प्रदेश

सिद्धार्थनगरमा ‘सम्मानित’ बुटवल उपमहानगरमा ‘अपमानित’



बुटवल २७ पुष । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापा कार्यालय भित्रै अपमानित हुनु परेको छ । घर विदा र असाधारण विदा बसेर कार्यालय फर्किदा आफू बस्ने कुर्सी नपाएपछि थापाले अपमानित हुनु परेको गुनासो गरिन् । उनले आफूमाथि अन्याय भएको भन्दै उपमहानगरकै न्यायिक समितिमा निवेदन समेत पेश गरेकी छन् ।
अर्घाखाँचीको साविक अर्घातोस गाविसमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन ५ औं तहबाट स्वास्थ्य सेवा प्रारम्भ गरेकी उमा थापा बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुखको रुपमा ७ औं तहका अधिकृत हुन् । अर्घाखाँचीपछि रूपन्देहीको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट सातौं तहका अधिकृत भएर काम गरेकी उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार २०७६ साल भदौ १३ गते सिद्धार्थनगर नगरपालिकामा स्वास्थ्य शाखा प्रमुखमा समायोजन भएकी थिइन् ।
सिद्धार्थ नगरपालिकामा उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएकी उमाले समायोजन मिलानबाट २०७७ साल चैत ९ गतेदेखि बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालिन् । बुटवलमा आएर कोरोना महामारीको समयमा उत्कृष्ट काम गरेर वाहवाही पाएकी उमा अहिले भने अपमानि हुनु परेको भन्दै गुनासो गरेकी छन् । उपमहानगर उप–प्रमुख सावित्रादेवी अर्यालले उमाको निवेदन परेको पुष्टी गरिन् । न्यायिक समितिमा उपप्रमुख संयोजक रहने व्यवस्था छ । निवेदन प्राप्त भए पनि कानूनी सल्लाह गर्दा कार्यालय भित्रकै विषय भएकोले दर्ता गर्न नमिल्ने भएपछि दर्ता नगरिएको उले बताइन । यद्यपी उमालाई न्याय दिने उनले प्रतिवद्धता जनाइन् ।
उमा २०७७ साल चैत ९ गतेदेखि बुटवलको स्वास्थ्य शाखा प्रमुख थिइन् । उनले २०७८ कात्तिकमा दुई महिना सञ्चित घर बिदा र १२ महिना असाधारण बिदा लिएकी थिइन् । उपमहानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले उमाले विदा बस्ने भएपछि उनी नआउँदासम्मका लागि भन्दै युवराज पाण्डेलाई स्वास्थ्य शाखा प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आग्रह गर्दै निर्देशनसहितको पत्र दिएका थिए । ‘स्वास्थ्य शाखा प्रमुख उमा थापा हाल असाधारण बिदामा बसेकोले निज कार्यालयमा हाजिर नभएसम्मका लागि’ भन्ने व्यहोरासहितको उक्त पत्रपछि स्वास्थ्य शाखाको प्रमुखका रुपमा काम गरिरहेका पाण्डेले उमा थापा विदा सकेर आएपछि पनि कुर्सी छाड्न मानेनन् ।
बिदा सकिएपछि उमा यही पुस १ गते कार्यालयमा हाजिर भइन् । कार्यकक्षमा पुग्दा शाखा प्रमुखको कुर्सीमा स्वास्थ्य शाखाकै कर्मचारी युवराज पाण्डे बसेका थिए । कार्यालयमा उपस्थित भएपनि आफ्नो कुर्सी टेबल फिर्ता नपाउने छाँट बुझेर उनी शिक्षा तथा स्वास्थ्य महाशाखामा पुगिन् । उनले महाशाखा प्रमुख मित्रमणि खनालसँग गुनासो गरिन् । खनालले महाशाखामै खाली रहेको कुर्सी टेबल देखाउँदै त्यहीँ बस्न आग्रह गरे । उमाले आफू स्वास्थ्य शाखा प्रमुख रहेको भन्दै खनालको आग्रह अस्वीकार गरिन् ।
पहिलो दिन यताउता घुम्दैमा बित्यो । दोस्रो दिन पुस २ गते उनी १० नबज्दै कार्यालयमा पुगिन् । उनको कुर्सी खाली थिएन । उनले आफूमाथि अन्याय भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसामू गुनासो गरिन् । पन्थीले प्रशासन शाखामै बस्न कुर्सी टेबल व्यवस्था गरिदिए । उमाले १२ दिन प्रशासन शाखामा बिताइन् । यसबीचमा उनले महाशाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग आफ्नो स्थानबारे कुरा गरिन् । पटक(पटकको छलफलपछि पनि निश्कर्ष ननिस्किएपछि पौष १३ गतेदेखि रोजगार शाखामा उमालाई राखियो । उक्त शाखामा रहे पनि महाशाखा प्रमुखले भने स्वास्थ्य शाखाकै जिम्मेवारी उनलाइ सुम्पिएको थापाले बताइन् । रोजगार शाखका दिलबहादुर रोका अवकास प्राप्त गरी कुर्सी खालि भएपछि उक्त कोठामा बस्दै उमाले स्वास्थ्यको कार्ययोजना अद्यावधिक, दर्ता नवीकरणको मस्यौदा अध्ययन, कोभिड र शीतलहरबाट हुन सक्ने क्षति न्यूनीकरण लगायतका विषयमा कार्ययोजना बनाइरहेकी छन् ।
महाशाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखको कुर्सीमा बसेका युवराज पाण्डे, उमा थापा बीच पटकपटक छलफल भए पनि हालसम्म समाधान ननिस्किएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले समस्या समाधानका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गरे । ‘पटकपटक छलफल गरियो कुनै निकास निस्किन सकेन । युवराजजीले मलाई नगरप्रमुखले कुर्सी नछोड्नु भन्नुभएको छ भन्नुभयो,’(उमा थापाले भन्छिन् । एक पटक छलफल चलिरहेका बेला नगरप्रमुखले फोन गरेर अर्को विकल्प रोज्न आग्रह गरेको सुनाउँदै उमाले भनिन्(‘नगरप्रमुखले दिएका विकल्प कुनैमा पनि म उपयुक्त हुनसक्ने लागेन । मेरो कार्यक्षमता, योग्यता र मेरो आत्मसम्मानको लागि पनि लड्नुपर्छ भन्ने लाग्यो,’ नगर प्रमुखले दिएका विकल्पहरु बारे भने उमाले प्रस्ट खुलाउन चाहिनन् ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६