प्रदेश

विमान दुर्घटनामा पर्वतका एकै परिवारका चार जनाको मृत्यु



कास्की, ०२ माघ । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाण्डौ जानुभएको थियो । यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को बानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उहाँ घर फर्किँदै हुनुहुन्थ्यो ।

गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा हुनुहुन्थ्यो भने नातिनातिना पनि घर जान पाउँदा निकै खुसी थिए ।

जाडोको बिदाभएका बेला बाबा जन्मेको गाउँ जान पाउँदा बालबालिकामा खुसीको सीमा नै थिएन तर उनीहरुको खुसी विमानबाट झर्न नपाउँदै विलय भयो । आइतवार पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परि ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो ।

लामो समय गाउँ नआएका छोरा र नातिनातीनीलाई गाउँमा घुमाउने, आफ्नो माइतीघरमा लगेर पूजामा सहभागी गराउने, भेटघाट, नातागोता आफन्तसँग रमाउने जमुनाको सपना पनि चकनाचुर भयो । उहाँ आधा समय काठमाण्डौ र आधा समय गाउँमै बस्दै आउनुभएको थियो । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९ईसीमोड० मा आईटी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो भने उहाँकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहनुभएको आफन्तसमेत रहनुभएकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले जानकारी दिनुभयो ।

एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त हुनुभएकीले अस्पताल भर्ना गरिएको छ । आफैँले टिकट काटेर घर पठाउनुभएकी उहाँ सदाका लागि एक्लिनुभएको छ । एकै परिवारका चार जनाको निधनपछि अहिले गाउँ शोकमग्न भएको छ । गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताउनुभयो ।

विमान दुर्घटनामा एकै परिवारका चारजनासहित पर्वतका १० जनाले ज्यान गुमाएका छन् । यस घटनामा ज्यान गुमाउनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि त्यही दुर्घटनामा निधन भएको थियो।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६