जीवनशैली

सुन्तलाको राम्रो मूल्य नपाउँदा गुल्मी नयाँगाउँका किसान मर्कामा



गुल्मी ३ माघ । गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
उत्पादनशील क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैँचा व्यवस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकूल हुनु, फल्ने बोटको वृद्धिसँगै सुन्तला उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । विगत दश वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासका कारणले अहिले २९ करोड ३७ लाख बराबरको सुन्तला उत्पादन भएको केन्द्रको भनाइ छ ।
सुन्तला उत्पादनमा वृद्धि भए तापनि कृषकहरूले सोचेजस्तो मूल्य नपाएको गुनासो गरेका छन् । यस जिल्लाको धुर्कोट गाउँपालिका –१, नयाँ गाउँ सुन्तलाका लागि प्रसिद्ध मानिन्छ । अहिले यहाँबाट दुई करोड बढीको सुन्तला उत्पादन भएको छ । उमेरले ३७ वर्ष पुग्नुभएका स्थानीय मिना घिमिरेले सुन्तला उत्पादनमा वृद्धि भए पनि सोचेजस्तो मूल्य नपाएको गुनासो गर्नुभयो ।
अर्का स्थानीय पीताम्बर कोइरालाले २०४६ सालबाट सुन्तला खेती सुरु गर्नुभयो । विगतमा भन्दा अहिले सुन्तला उत्पादन बढेको छ । तर, उत्पादन अनुसारको मूल्य नपाएको उहाँले बताउनुभयो । करिब ५० वटा बोटबाट सुन्तला खेती सुरु गरेकोमा अहिले डेढ सयभन्दा बढी बिरुवा छन् । पहिले वीज बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएका उहाँ अहिले कलमी बिरुवा उत्पादन गर्नुहुन्छ । त्यति मात्र होइन, उहाँले अहिले कागती दुई हजार र सुन्तला एक हजार बिरुवा उत्पादन गरेको बताउनुभयो ।
स्थानीय मीनप्रसाद पोखरेलले पनि यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजार मूल्य भने सोचेजस्तो नभएको गुनासो गर्नुभयो । उहाँले उचित मूल्य नपाएको भन्दै स्थानीय तहले बजारीकरणका लागि प्रबन्ध मिलाई दिनुपर्ने समेत बताउनुभयो । आम्दानीको मुख्य स्रोत नै सुन्तला भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाईले सुन्तला उत्पादक कृषकहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गर्दैआएको छ । नयाँ गाउँलाई पकेटक्षेत्र नै बनाएर काम गरेको परियोजना कार्यान्वयन इकाई प्रमुख गङ्गाकुमारी पोखरेलले बताउनुभयो । बजारको सुनिश्चितता र कृषकले उचित मूल्य प्राप्त गर्ने गरी विभिन्न निकायसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६