काठमाण्डौं, ०३ माघ ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले आफू पर्यटनमन्त्री बन्न लागेको भन्दै आफ्नो बुवासँगको संवाद उल्लेख गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा रहेका बुवाको तस्बिर पोस्ट गर्दै उनले ‘डाँडाको जून घामजस्तै बुवासँग कुराकानी’ भनेर लेखेका छन् ।
उनले लेखेका छन्–
मैले भनेँ–
म – बुवा, म मन्त्री हुने भएछु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन, यो सपना हो कि विपना हो ?
म – हो बुवा साँच्चै हो, विपना नै हो । (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
बुवा – मन्त्रीचाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?
म – पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ । तेस्रो, जनताले माया र भरोसा दियो । चौथो, पार्टीले विश्वास गर्यो ।
बुवा– राम राम राम ! म उहिले फोक्लेन्डको लडाईंमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिनँ थे !
म – म पनि जनयुद्धमा मरेको भए, त्यस्तै त हो…।
बुवा– हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ, राम्रो गर्नु ।
म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो । म मिहिनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ, आज हामीसँगै हुन पाएको भए…।
बुवा – म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला, म सबै भनिदिउँला ।
बुवा रुनुभो ! म…!
सम्झेँ–
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनुभो । तर प्रसँग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै । आँसुको मुहान र भाव भने फरक । साभार बाह्रखरी









प्रतिक्रिया