प्रदेश

गृह मन्त्रालयमा फर्किन रवि लामिछानेको कसरत



काठमाडौँ, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् । शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए । जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए ।

तर, आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् ।

लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ नेपाली नागरिकता प्राप्त गरेपछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किसक्नु भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब सभापतिज्यूले प्रधानमन्त्रीज्यूलाई पुरानै जिम्मेवारीमा फर्काउन भूमिका खेल्नुपर्‍यो भनेर प्रस्ताव गर्नु भएको छ ।’ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन सत्ता साझेदार दलले भूमिका खेल्नुपर्ने ती केन्द्रीय सदस्यले जिकिर गरे ।
उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो । बैठकपछि प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने बैठकको निष्कर्ष रहेको र सोहीअनुसार सभापति लामिछानेले दलहरूसँग संवाद गर्ने बताएका थिए ।

लामिछानेले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई ओलीले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा हुन्छ भन्ने आशयको विचार राखेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले भने तत्काल लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन नहुने धारणा राखेको सचिवालयका ती सदस्यले बताए ।

आफ्नो पक्षमा माहौल बनाउन लामिछानेले आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । राति उनी ओलीलाई भेट्न भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटमा पनि उनले गैरसांसदको रूपमा मन्त्री बनाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ ।

जस्तोसुकै अवस्था आए पनि पुनः उपप्रधानमन्त्रीसहित गृहमा आफू फर्किनुपर्ने अडान लामिछानेले ओलीसामु राखेका थिए । उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा नफर्काए सरकारबाट बाहिरिनेसम्मको चेतावनी सत्ता साझेदार दललाई दिएको बताइएको छ ।

तर, नागरिकता र पासर्पोटसम्बन्धी गम्भीर विषयमा लामिछाने मुछिएकाले जिम्मेवारीमुक्त हुने बित्तिकै उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्काउँदा बाहिर राम्रो सन्देश नजाने प्रचण्डको बुझाइ छ ।
यसैबिच माओवादी केन्द्रले सोमबारका लागि पदाधिकारी बैठक समेत बोलाएको छ । स्थायी कमिटी बैठक स्थगित गरेर राखिएको सो बैठकमा लामिछानेको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६