प्रदेश

पाल्पाको रामपुरमा पनि व्यावसायिक कालिजपालन



पाल्पा, १८ मंसिर । पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन शुरु भएको छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनको थालनी गर्नुभएको हो । पाल्पाको रामपरु नगरपालिका–४ को बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय शुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताउनुभयो । गएको जेठमा उहाँका छोरा मनिम रानाले यो व्यवसाय शुरु गर्नुभएको थियो ।

‘छोराको रहरले शुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ,’ लोकमायाले भन्नुभयो । उहाँको फार्ममा हाल एक सय ५० वटा कालिज छन् । गएको जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उहाको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले एउटा चल्ला चार सय रुपैयाँमा खरिद गरेर पाल्न थाल्नुभएको हो । करिब चार रोपनी जग्गा भाडामा लिएर आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिनुभयो । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उहाँको अनुभव छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन शुरु गरेको उहाँको भनाइ छ । करिब ३० लाख रुपैयाँको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा भाले कालिज तीन हजार र पोथी दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषतः छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस, घरमै खस्रो बनाएर पिसेको गहुँ तथा मकैको दाना कालिजको आहारा हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६