प्रदेश

व्यवस्थित गर्ने नाममा छाडा चौपायामाथि क्रूर यातना, खाना र औषधि नपाउँदा एक महिनामा मरे ४० चौपाया




रुपन्देही, १८ मंसिर ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना दिइएको छ।कात्तिकको दोस्रो हप्ता संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले विनायोजना हतारहतार कोषपरिसरमा तारबार गरी करिब तीन सय छाडा चौपाया राखेका थिए। करिब तीन बिघा क्षेत्रफलमा तारजाली लगाएर राखिएको छाडा चौपायालाई समयमै दानापानी र औषधिको व्यवस्था नहुँदा अहिले चौपायाहरू मर्न थालेका छन्।

चौपाया व्यवस्थापनका लागि कोषले एकजना र नगरपालिकाले ६ जना कर्मचारी राखे पनि उनीहरूले सही तरिकाले काम नगर्दा समस्या थप जटिल हुन थालेको स्थानीयको गुनासो छ। चौपाया एक महिनादेखि परालको भरमा छन्। तिनीहरूले हरियो घाँस, दाना र औषधि देख्न पनि पाएका छैनन्।

अस्थायी रूपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रूपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थापन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भए पनि काम नहुँदा दैनिकजसो चौपायाहरू मर्न थालेका छन्।

केही दिनअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल र वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको बैठकले अस्थायी रूपमा छाडा चौपायाको व्यवस्थापनको विषयलाई तत्काल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय गरेको थियो। सो निर्णय पनि कागजमै सीमित हुँदा अहिले गाईगोरु पीडादायी तरिकाबाट मरिरहेका छन्। व्यवस्थापन नहुँदा कतिपय जिउँदा चौपायाका आँखा चराहरूले खाइदिएका भयानक दृश्य देखिन्छन्।

अस्थायी रूपमा व्यवस्थापन गरिएको छाडा चौपायालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए। छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णयसमेत भएको शाक्यले बताए।

लुम्बिनीमा छाडा चौपायाले किसानहरूको बालीनालीसमेत नष्ट गर्ने गरेका थिए। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार छाडा चौपायाहरू हुँदा किसानहरू रातभर जाग्राम बसेर बाली कुर्दै आएका थिए। तर, कात्तिक पहिलो हप्ता रातारात कोषले छाडा चौपाया नियन्त्रणमा लिएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने निश्चित भएपछि कोषले छाडा चौपाया नियन्त्रणमा लिएको थियो।

छाडा चौपाया नियन्त्रणमा हुँदा लुम्बिनी वरपर सुन्दरता बढेको भन्दै कोषलाई चौपाया सडकमा नछाड्न दबाब परेसँगै पछिल्लो एक महिनादेखि चौपाया थुनामा छन्। दानापानी र औषधिको व्यवस्थापन नहुँदा भने अहिले गाईगोरु थुनामै पीडादायी मृत्युवरण गरिरहेका छन्।

खाना खान नपाएर बिरामी परी ढलेका गाईगोरु उठ्न नसकेको अवस्थामा चराहरूले आँखा खाइदिँदा भयानक तरिकाले मर्न बाध्य भएका चौपाया कुर्न खटिएका एक कर्मचारीले बताए। करिब तीन सयको हाराहारीमा थुनिएकामा एक महिनाको अवधिमा ४० भन्दा बढी चौपाया मरिसकेका कोषका कर्मचारीहरू बताउँछन्। मरेका चौपायालाई डोजर लगाएर सोही स्थानमा गाडिएका छन्। चौपायालाई थुनिएको क्षेत्रमा अहिले धेरै खाल्टाहरू देखिन्छन्।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६