नेपालगञ्ज ५ पुस । नेपालगन्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बाँके, बर्दिया र रुकुमपूर्वका विद्यालय नर्सलाई नेपालगन्जमा बोलाएर कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रम फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा विद्यालय नर्स कार्यक्रम ५२ वटा विद्यालयमा पाइलट कार्यक्रमका रूपमा सञ्चालनमा रहेको छ । सङ्घीय, प्रदेश र स्थानीय तहसँगै कतिपय विद्यालय आफैले समेत विद्यालयमा नर्स राखेका कारण कार्यक्रम सञ्चालन भएको विद्यालय सङ्ख्या बढ्न सक्ने जनाइएको छ । विद्यालयमा खटिएका नर्सले किशोर किशोरीमा हुने शारीरिक समस्या, मानसिक, सामाजिक र संवेगात्मक समस्या समाधानमा सहजीकरण, व्यक्तिगत तथा महिनावारी सरसफाइ, विद्यालय तथा वातावरण सरसफाइ, यौन शिक्षा, पोषण र गुणस्तरीय खानामा सुधार तथा लागूऔषध नियन्त्रणका लागि विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेगरेको फोकल पर्सन भण्डारीले बताउनुभयो ।
पोषण गुणस्तरीय खानाबारेमा जानकारी दिएपछि विद्यालयमा जंकफुड निषेध भएको र अभिभावकमा समेत सचेतना फैलिएको पाइएको विद्यालयका नर्सहरूले बताउनुभयो । फोकल पर्सन भण्डारीसहित भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक कुमार थापा, युनिसेफका प्रकाशचन्द्र जोशीलगायतले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया