प्रदेश

बुद्धभूमिमा स्वास्थ्य सिविरः १६ सय भन्दा बढिले लिए सेवा



बुद्धभूमि, ०७ पौष । संधै विद्यार्थीले भीँडभाड हुने बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध माविमा शुक्रबार फरक खालको दृश्य देखियो । झट्ट हेर्नेलाई लाग्दथ्यो विद्यालयमा कुनै मेला लागिरहेको छ । तर त्यहाँ कुनै मेला नभएर वृहत निशुल्क स्वास्थ्य शिविर थियो । त्यहि शिविरमा मानिसहरु मेलामाजस्तै गरी सहभागि थिए । विशेषज्ञ चिकित्सकसहितको टोलीबाट निस्शुल्क जाँच हुने मौका पाएपछि तँछाडमछाड गर्दै विहानैबाट सर्वसाधारण लाइनमा बसेको देखिन्थ्यो ।

अस्पतालको पहुँच नभएको पालिकामा एकै पटक काठमाडौका १६ जना विशेषज्ञ चिकित्सक सहितको टोली पुग्नु सर्वसाधारणको लागि सामान्य कुरा थिएन । १६ जना चिकित्सकबाट बिभिन्न स्वास्थ्य समस्याहरु पहिचान भएपछि गौतमबुद्ध माविमा पुगेका विपन्न समुदाय, सीमान्तकृत वर्ग, वृद्ध वृद्धा, महिला, हाड जोर्नी र मुटु रोगका बिरामी खुसी थिए । नगरपालिकाका अनुसार काठमाण्डौँ मेडिकल कलेज शिक्षण अस्पतालको स्वास्थ्यकर्मीको टोलीले १६ सय बढीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरबाट स्वास्थ्य लाभ लिएपछि बुद्धभूमिबासीले गाउँमै अस्पताल खुलेको अनुभव गरेको बताएका छन् । यहि सेवा नपाएर टाढा जाँदा ठगिनु परेको, राम्रो परामर्श नपाएको अवस्थामा विशेषज्ञ टोलीले निशुल्क सेवा दिँदा धेरै सजिलो भएको उनीहरु बताउँछन् ।

काठमाण्डौँ मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालक तथा सङ्घीय सांसद सुनिल शर्माका अनुसार मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, वाल रोग, दाँत रोगको उपचार गरिएको छ । यस्तै शिविरमा मुटु सम्बन्धि समस्या, इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच गरी औषधी निःशुल्क प्रदान गरेको पनि डाक्टर शर्माले बताए ।

स्वास्थ्य जाँच गराएकामध्ये जटिल समस्या भएका ५१ जना विरामीलाई काठमाडौँ रिफर गरिएको छ । उनीहरुको २२ गते काठमाण्डौँमा शल्यक्रिया लगायतको उपचार हुनेछ । त्यसमा शल्यक्रिया शुल्क नलाग्ने गरी काठमाण्डौँ मेडिकल कलेजले सेवा प्रदान गर्ने नगरप्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

पालिकामा एकै पटक धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो पटक रहेकाले यसबाट अत्यन्त विपन्न समुदायका महिला वृद्धहरू बढी लाभान्वित भएको नगर प्रमुख श्रेष्ठले बताए । यसरी गरिएको यो जिल्लाकै ठुलो र वृहत स्वास्थ्य शिविर हो । शिविर सञ्चालन हुँदा बिरामीले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका सास्तीबाट मुक्त भएको नगरपालिकाका प्रवक्ता तेज बहादुर बस्नेतले जानकारी दिए ।

कलेजले हरेक वर्ष १ सय भन्दा धेरै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसरी देशब्यापी शिविर संचालनमा हिँडेको अस्पतालको टोलीलाई मेयर श्रेष्ठले समन्वय गरी नगरपालिकामा प्रवेश गराएका हुन् । नशा तथा मानसिक रोग विशेषज्ञ डा अनुश्रुती पराजुलीका अनुसार अस्पत्तालले एक महिनामा काभ्रे, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरिसकेको छ ।

प्रकाशित : ७ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६