जीवनशैली

इन्द्रको खटजात्रा इन्द्रदह पुर्याइयो



भक्तपुर, २१ भदौः

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ ।

इन्द्रजात्राका दिन आज साँझ स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खटजात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्रदह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाएका छन् ।सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याएपछि आज रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको साँझ भक्तपुरका विभिन्न क्षेत्रमा देवतालाई घुमाएर सिद्धपोखरी पुर्याएपछि हजारौँको भीडले रातभर जात्रा गरी आइतबार पूर्णिमाको दिनभर मेला लाग्छ ।

दिनभरको मेला सकिएपछि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्रजात्रा सम्पन्न हुने परम्परा छ । नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको भनाइ संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिनुभयो । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास रहेकाले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाइएको छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिनापानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्रदहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । राजतन्त्रको पराजय र जनताको विजयका रूपमा यो जात्रा मनाइने गरेको उहाँ बताउनुहुन्छ ।

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६