अन्तर्राष्ट्रिय

भारतका तीन राज्यले बालबालिकाको मृत्युपछि खोकीको सिरपमा प्रतिबन्ध लगाए



नयाँदिल्ली, १९ असोज (रासस/एएफपी) :

कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् । मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डिइजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ । “नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डिइजी पाइएको छ”, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो । “यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ”, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भन्नुभयो । उहाँका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ । त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् । सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६