अर्थ-वाणिज्य

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी



ढोरपाटन (बागलुङ), ४ कात्तिक

बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् । तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् । मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ । मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिनुभयो । पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ । खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताउनुभयो । मगर विद्यार्थी सङ्घले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उहाँको भनाइ छ । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताउनुभयो । सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिनुभयो । करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उहाँको भनाइ छ । गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरुबाट सोरठी सिकेपछि मगर विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूलाई तालिम दिएर यसपाली देउसी खेल्न थालेको थापाले बताउनुभयो । देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ ।

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६