देश

कपिलवस्तुमा हात्तीपाइले उन्मूलन अभियान स्वास्थ्य मन्त्रीद्वारा प्रारम्भ



कपिलवस्तु ८, मंसिर

कपिलवस्तु जिल्लामा हात्तीपाइले नियन्त्रण तथा उन्मूलनका उद्देश्यले सञ्चालन हुँदै आएको आम औषधि सेवन अभियानको १७औँ चरण आज आइतबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ। तौलिहवामा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा शर्मा गौतमले अभियानको उद्घाटन गर्दै यसलाई राष्ट्रव्यापी सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण उपलब्धिसँग जोडिने कार्यक्रमका रूपमा व्याख्या गरिन्।
मन्त्री शर्माले हात्तीपाइले दीर्घकालीन शारीरिक, सामाजिक र आर्थिक प्रभाव पार्ने रोग भएकाले यसको रोकथाममा नागरिकको प्रत्यक्ष सहभागिता नै निर्णायक हुने स्पष्ट पारिन्।
“सरकारले प्राथमिक स्वास्थ्य सेवामा सुधारका लागि लगातार पहल गरिरहेको छ। हात्तीपाइले उन्मूलन अभियानमा सर्वसाधारणको सक्रियता मिल्ने हो भने कपिलवस्तुलाई पूर्णरूपमा रोगमुक्त जिल्लाको रूपमा अघि बढाउन सकिन्छ,” मन्त्री शर्माले बताइन्।
उनले जनचेतना विस्तार, स्थानीय तहको सहकार्य र स्वास्थ्यकर्मीको निरन्तर सक्रियता नै अभियान सफलता प्राप्त गर्ने मूल आधार भएको उल्लेख गरिन्।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाललगायत जिल्ला स्तरका सरोकारवाला उपस्थित थिए।
कार्यक्रममा सहभागी सबैले औषधि सेवन गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।
कपिलवस्तु जिल्लामा हात्तीपाइले नियन्त्रणका लागि २०६३ सालदेखि सुरु भएको आम औषधि सेवन कार्यक्रम वर्षेनि निरन्तर रूपमा विस्तार हुँदै आएको छ। यस वर्ष १७औँ चरणमा प्रवेश गरेको उक्त अभियान अन्तर्गत स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू समुदायमै पुगेर औषधि वितरण तथा सेवन सुनिश्चित गरिरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विगतका वर्षहरूमा औषधि सेवन दर उच्च भएको र समुदायमा रोग संक्रमण घट्दै गएको देखिएकाले यो अभियानले हात्तीपाइले उन्मूलन लक्ष्यका दिशामा उत्साहजनक प्रगति गरेको छ।

प्रकाशित : ९ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६