११ मंसिर, मधुवन धाम, कपिलवस्तु
गौ–माताको संरक्षण, संवर्धन र दीर्घकालीन व्यवस्थापनलाई लक्षित गर्दै भागरथी गौ–संरक्षण विकास केन्द्रद्वारा आयोजित श्रीमद्भागवत कथावाचन धनधान्याञ्चल महायज्ञ तथा प्रथम गौ–संरक्षण महोत्सव आज मधुवन धाममा एक भव्य तथा आध्यात्मिक वातावरण बीच सुरु गरिएको छ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु प्रसाद पन्थीले वैदिक परम्परा अनुरूप दीप प्रज्वलन गरी महायज्ञको शुभारम्भ गर्नुभयो।
धर्म, संस्कृति र समाजसेवाप्रति समर्पित हजारौँ भक्तजन, श्रद्धालु एवं स्थानीयवासीहरूको अनुपम उपस्थितिले कार्यक्रमस्थल आस्थाको समुद्रझैँ उम्लिएको थियो।

विशेषगरी विविध सांस्कृतिक झाँकीसँग सजिएको कलश–यात्रा भक्तिभाव, उल्लास र आस्थाले परिपूर्ण भई सम्पन्न भयो। महिलादेखि युवासम्म, कृषकदेखि व्यापारीसम्मका भक्तजनको सहभागिताले मधुवन धाम आज पूर्णरूपमा पवित्र र दिव्य वातावरणमा उज्यालिएको थियो।
महोत्सवमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा भागवत–महात्म्य, गौ–संरक्षणको आध्यात्मिक वैज्ञानिक महत्व, मानव–सेवा र समाज–कल्याणसम्बन्धी गहन सन्देशसहित दैनिक कथामृत पान गराइने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुखज्यूहरू लगायत प्रतिष्ठित अतिथिहरूको उपस्थिति रह्यो।
गौ–संरक्षणलाई राष्ट्र, समाज र संस्कृतिको मेरुदण्ड मान्दै आयोजक संस्था तथा सहभागी धर्मप्रेमी समुदायले एक गाई—एक घर जस्ता सन्देश र दीर्घकालीन संरक्षण अभियानमा सबैको निरन्तर सहभागिता आवश्यक रहेको प्रतिवद्धता व्यक्त गरेका छन्।

धार्मिक आस्था, सांस्कृतिक पहिचान र समाज कल्याणको अद्वितीय संगम बनेको यस पुण्य–यज्ञमा सहभागी भई गौ–माता तथा सनातन धर्मको संरक्षणमा अमूल्य योगदान पु¥याउन आयोजकले सबै श्रद्धालु भक्तजन समक्ष विनम्र आह्वान गरेको छ।








प्रतिक्रिया