बुटवल, १८ मंसिर
देशभरकै अधिकांश विकास–निर्माणका काम सुस्त देखिएको समयमा लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ। प्रदेशका नागरिकलाई सहज तथा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित २०८१ भदौ १५ गतेदेखि १ हजार २०० शय्याको नयाँ अस्पताल निर्माण थालिएको हो।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीका अनुसार निर्माणस्थलमा भइरहेको कामले स्थानीयवासीमा आशा पलाएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर ९सीईओ० छविराज पोखरेलले करिब साढे १४ महिनामा भौतिक प्रगति ३० प्रतिशत नाघेको जानकारी दिए। उनका अनुसार निर्माण कम्पनी दिनरात सिफ्ट मिलाएर काम गरिरहेको छ। अस्पताल निर्माणको ठेक्का अवधि २०८५ पुससम्म रहने छ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले प्रदेशका चार प्रमुख आयोजनामध्ये देउखुरीस्थित प्रदेश राजधानी निर्माण अन्तिम चरणमा पुगेको र प्रादेशिक अस्पतालको निर्माण तीव्र गतिमा भइरहेको बताए। बाँकेको प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्ति प्रक्रिया जारी रहेकाले त्यहाँ भौतिक प्रगति नभएको र रामपुर–कापुरकोट सडक निर्माण पनि अघि बढिरहेकाले जानकारी दिए।
अस्पताल निर्माणका लागि प्रदेश सरकारले ०८०र८१ मा ६० करोड, ०८१र८२ मा १ अर्ब ८० करोड र चालु आर्थिक वर्ष ०८२र८३ मा १ अर्ब बजेट विनियोजन गरेको छ। गुरुयोजनाअनुसार अस्पताल निर्माण लागत ८ अर्ब ९९ करोड ७५ लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको थियो। तर भारतीय कम्पनी ‘क्यापासाइट–आशीष–रेलिग्रेट भेञ्चर’ र एक नेपाली कम्पनीको संयुक्त सहकार्यमा ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरि ०८० पुस २६ गते ठेक्का सम्झौता भएको हो।
कम्पनीले भवन निर्माणसँगै सम्पूर्ण आवश्यक उपकरण खरिद गरी ‘इन्टेरियर सोलुसन’ सहित अस्पताल हस्तान्तरण गर्ने जिम्मेवारी लिएको छ। सीईओ पोखरेलले सुरुका वर्षमा पेस्की र प्रारम्भिक निर्माणका काम बढी हुने भएकाले खर्च धेरै आउने र त्यसका लागि बजेट अभाव नहोस् भनेर सरकारसँग निरन्तर समन्वय भइरहेको बताए। उनका अनुसार चालु वर्षको विनियोजित बजेट सकिएको छ।
हाल मुख्य भवनको आधार तयार भइसकेको छ भने भुइँतलाको ढलान सम्पूर्ण रूपमा सम्पन्न भएको छ। क्यान्सर उपचार भवन ९अन्कोलोजी ब्लक० को पहिलो तल्लामा छड बुन्ने काम भइरहेको छ। निर्माण छिटो बनाउन आधुनिक प्राविधिक उपकरण प्रयोग गरिएको छ। दुई वटा ठूलो क्रेन जडानपछि सामग्री ढुवानी झनै छरितो भएको छ। प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीका अनुसार १० प्राविधिकसहित ३०० मजदुरले रातदिन सिफ्टमा काम गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार काठमाडौँ विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौँ युनिक्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ मार्फत सुपरीवेक्षणको जिम्मा दिइएको छ। ११५ वर्ष पुराना अस्पतालका संरचना हटाएर नयाँ आधुनिक भवन निर्माण भइरहेको हो। बुटवल उपमहानगरपालिका–९ स्थित ६ बिगाहा १२ कठ्ठा क्षेत्रमा अत्याधुनिक संरचनासहित अस्पताल निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
नयाँ अस्पताल १ हजार २०० शय्याको बहु–अनुसन्धानात्मक क्षेत्रीय अस्पतालका रूपमा विकसित हुँदैछ। मुख्य भवन १२ तला ९अन्डरग्राउन्डसहित० र अलग्गै पाँच तला ९अन्डरग्राउन्डसहित० को क्यान्सर भवन निर्माण हुनेछ। अस्पतालको अगाडिको भागमा आधुनिक ओपीडी, आपतकालीन सेवा तथा इन्डोर सर्भिस रहने छन्। ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध गराइनेछ।
अस्पतालको छतमा हेलिप्याड निर्माण हुनेछ, जसबाट सिधै इमर्जेन्सीसम्म पुग्ने लिफ्ट सुविधा रहनेछ। हाल उपयोगमा रहेका तीन नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला–बाल रोगका सेवा सञ्चालन भइरहेका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालले दैनिक दुई हजारभन्दा बढी बिरामीलाई सेवा दिंदै आएको छ। अक्सिजन अभावको समस्या देखिएको कोभिड महामारीपछि अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल विकास समिति अध्यक्ष अजयमान श्रेष्ठले बताए। उनका अनुसार अस्पतालमा जनशक्ति अभाव, उपचारमा ढिलासुस्ती जस्ता समस्या रहेका भए पनि नयाँ भवन निर्माणपछि ती चुनौती समाधान हुने अपेक्षा नागरिकले गरेका छन्।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष जिसीले नयाँ संरचना निर्माणले अबका दिनमा सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।








प्रतिक्रिया