दिपिका सुनार
कपिलवस्तु, २० मंसिर
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडले स्थापना कालदेखि नै सञ्चार क्षेत्रमा पुर्याएको योगदान इतिहासमै दर्ज हुने खालको रहेको बताउनु भएको छ। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जिम्मेवारी र विश्वसनीयतासहित अघि बढ्न संस्था सक्षम बन्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी उपाध्यक्ष घिमिरेले सहकारीबाट प्रशिक्षित धेरै सञ्चारकर्मी विभिन्न संघ–संस्था तथा क्षेत्रमा उत्कृष्ट रूपमा कार्यरत रहेको उल्लेख गर्दै भूमिकालाई थप निखार्न सुझाव दिनुभयो।
अनलाइन प्लेटफर्मको संख्या बढ्दै जाँदा तथ्यभन्दा भावना, रिस–आक्रोशलाई बढी स्थान दिइने प्रवृत्ति देखिएको भन्दै उहाँले रेडियो तथा टेलिभिजनको विश्वसनीयता झन् महत्वपूर्ण बन्दै गएको बताउनुभयो।
सो अवसरमा पूर्व भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले सहकारीले वर्षौँदेखि जनताबीच सत्य–तथ्य सूचना प्रवाह गर्दै आएको र उत्पादन भएका सञ्चारकर्मी जिल्लामा चिर–परिचित तथा सक्षम रहेको उल्लेख गर्नुभयो। कार्यदक्षता र सामूहिक सक्रियताले संस्थालाई अझ उचाइमा पुर्याउन सकिने उहाँको तर्क थियो।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बदलिँदो परिवेशसँगै सञ्चार माध्यमको संवेदनशीलता र दायित्व बढ्दै गएको बताउनुभयो। दुई दशकअघिको र आजको कपिलवस्तुमा धेरै परिवर्तन आए पनि केही व्यक्तिले परिवर्तन नदेखिएको दाबी गर्ने गरेको औंल्याउँदै उहाँले सञ्चारकर्मी र समाजसेवीलाई सकारात्मकतामा प्रेरित हुन आग्रह गर्नुभयो।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जिल्लाको पहिलो सामुदायिक रेडियोका रूपमा स्थापना भएको बुद्ध आवाजको इतिहास गर्विलो रहेको बताउनुभयो। नाफाभन्दा सेवा र सामाजिक दायित्वलाई प्राथमिकता दिँदै प्रविधिसँग मेल खाने कार्यक्रम उत्पादन गर्न सुझाव दिन उहाँले आग्रह गर्नुभयो।
सभामा संस्थाका अध्यक्ष मित्रलाल शर्माले आगामी वर्षका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै ३०० भन्दा बढी सेयर सदस्यको सक्रियताले संस्था जिल्लाको अग्रणी सहकारीका रूपमा स्थापित भएको बताउनुभयो। संस्थागत योजना, नीतिगत स्पष्टता र सहकार्यका आधारमा संस्था अघि बढिरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
पूर्व अध्यक्ष विष्णु न्यौपानेले सञ्चार क्षेत्रलाई सामाजिक जिम्मेवारी र व्यवसायिकताको संयोजनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सयौँ सेयर सदस्यको लगानी र जनविश्वासका कारण संस्था जिल्ला मात्र नभई राष्ट्रिय स्तरमै परिचित बन्न सफल भएको उल्लेख गर्दै उहाँले नवीनता र तीव्रगतिका साथ अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।
कार्यक्रममा महासचिव सरोज खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरि पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक खिमानन्द पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भए।
यसैगरी टेलिभिजन बुद्ध आवाजका प्राविधिक प्रमुख लक्ष्मण सापकोटालाई युवराज–अनुराग स्मृति पत्रकारिता पुरस्कारबाट नगद, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडको साधारण सभा सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजका व्यवस्थापक भेषराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका पदाधिकारी, बोर्ड सदस्य, सेयर सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








प्रतिक्रिया