जीवनशैली

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना



नारायणगढ (चितवन), २९ पुस

खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भर्नुभएको हो । विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उहाँले भन्नुभयो, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।” ललितकला क्याम्पसबाट आर्टमा स्नातक गर्नुभएकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आउनुभएको छ । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय हुनुहुन्छ । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आउनुभएकी उहाँका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उहाँ भन्नुहुन्छ, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।” सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गर्नुभयो । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उहाँमा थियो । आज उहाँका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् । “आर्ट भनेको प्यासन हो”, उहाँले भन्नुभयो, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उहाँ अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आउनुभएको छ । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आउनुभएको छ । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आउनुभएकी उहाँका कलाकृतिको माग बढ्दो छ । चौधरीउहाँले भन्नुभयो, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६