काभ्रेपलाञ्चोक, २१ माघः विश्व क्यान्सर दिवसका अवसरमा यहाँ एक हजार ८०० किलोमिटर लामो साइकल यात्रा समापन गरिएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा घोषणा गरी सुरु भएको यात्रा एक महिनापछि अस्पतालमै पुगेर आज सम्पन्न भएको हो । क्यान्सर रोगबाट पीडित हर्क लामा र कविता चित्रकारले साइकल यात्राको साहसिक योजना बनाई तोकिएको यात्रा सम्पन्न गर्नुभएको हो ।
एक महिना लामो निर्माणाधीन मध्य पहाडी लोकमार्ग केन्द्रीत यात्राका क्रममा १५ स्थानमा दुई हजारभन्दा धेरैलाई प्रत्यक्ष रूपमा क्यान्सर रोगसम्बन्धी सचेतना गरिएको यात्रामा सहभागी अस्पतालका चिकित्सक सुमनराज ताम्राकारले जानकारी दिनुभयो । कार्यक्रममा यात्रामा सहभागी अर्का चिकित्सक विकास पराजुलीले यात्राका क्रममा भएका अनुभव सुनाउनुभयो । साइकल यात्री लामा र चित्रकारले पनि क्यान्सर रोगसँग जित्नसक्ने साहस साइकल यात्राबाट मिलेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा विराजमान कर्माचार्यले क्यान्सर उपचारका लागि कोष बनाइने र त्यसमा सङ्कलन भएको रकम जति नै थपेर अस्पतालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साइकल कल्चर कम्युनिटीबाट सङ्कलित उक्त रकम कोषमा जम्मा गरी धुलिखेल अस्पतालमा उपचाररत क्यान्सर रोगीको उपचारका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।
साइकलयात्री लामाले क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण व्यहोर्नु परेको सास्तीलाई न्यूनीकरण गर्न कोष स्थापनार्थ नवीनतम कार्य गरिएको बताउनुभयो । अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले क्यान्सर रोगबाट सङ्क्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साइकल यात्रा सम्पन्न गरेकामा दुवै साइकल यात्रीलाई विशेष धन्यवाद दिनुभएको थियो ।








प्रतिक्रिया