देश

राससद्वारा पोखरामा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणको पहल



गण्डकी, २८ फागुन

राष्ट्रिय समाचार समिति (रासस)ले गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको छ । आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उक्त अनुसन्धान केन्द्र निर्माणसम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको । सो अवसरमा मुख्यमन्त्री पाण्डेले आमसञ्चार विकास तथा अनुसन्धान केन्द निर्माण गर्ने राससको प्रस्तावप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । “आमसञ्चार क्षेत्रको विकासका लागि राससले अगाडि सारेको योजना समयसापेक्ष र महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राससबाट प्राप्त प्रस्तावलाई थप अध्ययन गरी आवश्यक निर्णयमा पुग्छौँ ।” उहाँले सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचारमार्फत आम नागरिकलाई सूसुचित गराउँदै आएको मुलुकको एकमात्र समाचार समिति रासससँग प्रेदश सरकारले सहकार्य र समन्वय गर्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष झाले राससले आफ्नो सेवा विस्तारसँगै प्रदेश सरकार र स्थानीय तहसँग सहकार्यको नीति लिएको बताउनुभयो । पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित राससको गण्डकी प्रदेश कार्यालय रहेको स्थानमा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माण गर्न आर्थिकलगायत आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग प्रस्ताव अगाडि बढाइएको उहाँको भनाइ छ । कार्यकारी अध्यक्ष झाले राससको प्रस्तावमा प्रदेश सरकारको सकारात्मक दृष्टि रहने विश्वास व्यक्त गर्नुभयो । “प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापन गरोस् भन्ने राससको माग र अपेक्षा छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “प्रदेश संरचनामा गइसकेको राससको सेवा विस्तार र स्तरोन्नतिमा प्रदेश सरकारले पनि अपनत्व लिनुपर्छ ।” गण्डकी प्रदेशभित्रका समाचार, तस्बिर, श्रव्य र श्रव्यदृश्य सामग्री प्राथमिकताका आधारमा सम्प्रेषण गर्ने विषयमा प्रदेश सरकारसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो । “गण्डकी प्रदेश सरकारका काम कारबाही, नीति तथा योजनाबारे समाचार सम्प्रेषण गरी आम नागरिकसम्म पु¥याउन राससले प्रदेश सरकारसँग सहकार्य गर्दै आएको छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “आगामी दिनमा प्रदेश सरकारसँगको सहकार्य र समन्वयलाई थप सुदृढ पार्न रासस तयार छ ।” नयाँ बजारस्थित राससको आफ्नै जग्गामा उक्त केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको छ । करिब तीन रोपनी क्षेत्रफलको उक्त जग्गामा भूमिगत पार्किङसहितको व्यावसायिक भवन बनाउने राससको योजना छ । ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ रहने उक्त भवनमा सुविधासम्पन्न कार्यालय, सभाकक्ष, रेडियो, टेलिभिजन स्टुडियो, खाजाघर, भोजनालयलगायत संरचना बन्ने जनाइएको छ । प्रदेश सरकारसँगको साझेदारीमा बन्ने उक्त केन्द्रमार्फत नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सङ्घ, प्रदेश र स्थानीय तहका निर्णय सहज रुपमा प्राप्त गर्न, डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास र पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुग्ने राससले विश्वास लिएको छ । प्रदेशस्तरमा डिजिटल साक्षरता र पारदर्शी प्रशासनलाई सुशासन कायम गर्नमा सहयोग पु¥याउने अपेक्षा लिइएको छ । मुख्यमन्त्री पाण्डेसँगको भेटमा कार्यकारी अध्यक्ष झासहित, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललगायतको सहभागिता थियो ।

प्रकाशित : २८ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६