ब्रेकिंग न्युज

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप



मध्यविन्दु (नवलपरासी), ४ चैत

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् । जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताउनुभयो । जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो । जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको छ । मध्यविन्दुमा ४९ दशमलव आठ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको छ । जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको प्रमुख चापागाईंले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९÷८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको थियो । जिल्लामा खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्ष्यअनुसार उपलब्धि हासिल हुने स्वास्थ्यकर्मीले विश्वास व्यक्त गरेका छन् । —

प्रकाशित : ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६