काठमाडौँ, २५ चैत
नयाँवर्ष २०८३ साललाई लक्षित गर्दै दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको अभिनेता विराज भट्टले बताउनुभयो । अभिनेता भट्टले चलचित्रको आकर्षणका रुपमा द्वन्द्व, गीतसङ्गीत भएता पनि पटकथाले नै दर्शकलाई खुसी बनाउन सक्नुपर्नेमा बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले द्वन्द्वका दृश्य वा चल्ने गीत राखेर चलचित्रलाई दर्शकले रुचाउछन् भन्ने सोच्नु गलत हो । चलचित्र सफल हुनुमा यसको विषयवस्तु र त्यसका लागि तयार गरिएको पटकथा महत्वपूर्ण हुन्छ । हामीले हेर्ने द्वन्द्वका दृश्य कथासँग जोडिएका हुनुपर्छ, अनि दर्शकले ‘कनेक्ट’ भएको महसुस गर्छन ।” चलचित्र ‘राम नाम सत्य’ मार्फत नयाँ अनुहार आयुष सिंह ठकुरी र खुसी कार्कीले अभिनय यात्रा सुरू गर्दै हुनहुन्छ । उक्त चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनिल थापा, सुधिर श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नृत्य निर्देशकको रुपमा चिनिनुभएका माइकल चन्दको निर्देशनमा चलचित्र तयार भएको छ । सामाजिक संदेशसँगै पूर्ण मनोरञ्जक बनाउने कोसिसका साथ चलचित्रमा आफूले काम गरेको निर्देशक चन्दले जानकारी दिनुभयो । “म नेपाली चलचित्रको नियमित दर्शक हुँ, दर्शकको ताली र गालीलाई मैले चलचित्र भवनमा देखेको छु । त्यसकारण मैले सामाजिक सन्देशसँगै मनोरञ्जन दिने सम्पूर्ण तत्वलाई चलचित्रमा समावेश गरेको छु । यसले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्छ”, निर्देशक चन्दले भन्नुभयो । उक्त चलचित्रका लागि आफूले विगत पाँच वर्षदेखि कथा, पटकथामा काम गरेर तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उक्त चलचित्रमा मानकृष्ण महर्जनले छायाङ्कन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, बन्दे प्रसादले सम्पादन, सियोन श्रेष्ठले नृत्य निर्देशन गर्नुभएको छ । यसैगरी निर्देशक तुलसी घिमिरे निर्देशन गर्नुभएको आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘पहाड’ युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर तयार गरिएको छ । उहाँले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताउनुभयो । निर्देशक घिमिरेले भन्नुभयो, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।” निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनु नाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउनुभएको छ । अभिनेत्री घिमिरेले आफूभन्दा अग्रजसँग काम गर्न पाउँदा अनुभवसँगै चुनौती महसुस गरेको बताउनुभयो । “मेरो लागि यो एउटा अवसर थियो र सँगै चुनौती पनि । मभन्दा सबै अग्रज र स्थापित कलाकार हुनहुन्छ, उहाँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु । मैले आफ्नो भूमिकालाई जीवन्त बनाउन सक्दो मेहिनत गरेकी छु”, अभिनेत्री घिमिरेले भन्नुभयो । चलचित्रमा प्रमोद प्रधानले छायाङ्कन, रञ्जितसिंह गजमेरले सङ्गीत निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेले दृश्य सम्पादन गर्नुभएको छ । —
Powered By Orson Infotech








प्रतिक्रिया