ब्रेकिंग न्युज

ओझेलमा गुल्मीेको कुर्घा मालीका



गुल्मी, २८ चैतः

जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको कुर्घा मालीका मन्दिर प्रचार–प्रसारको अभावमा अझै पनि ओझेलमा परेको छ । मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घामा रहेको यस मन्दिरको भिन्नै महत्व र विशेषताम रहेको छ । उक्त मन्दिरको मुख्य विशेषता भनेको जोकोही व्यक्तिले पनि वर माग्दा चिच्याएर माग्ने अनौठो परम्परा रहेको छ । जिल्लाको धार्मिक आस्था केन्द्रको रूपमा रहेको कुर्घा मालीका मन्दिरमा विभिन्न तिथि तथा पर्वमा ठूलो मेला लाग्ने गर्दछ । पछिल्लो समय मन्दिरको पुनःनिर्माणसँगै यहाँ पुग्ने भक्तजन तथा पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको भए पनि यसको महत्वअनुसार प्रचार हुन नसकेको स्थानीयवासीको गुनासो छ । मन्दिर परिसर वरिपरि देखिने मनमोहक प्राकृतिक दृश्य यहाँको मुख्य आकर्षण मान्छि । अझ रोचक पक्ष भनेको मन्दिरमा पूजा–आराधना गरेपछि वर माग्दा चिच्याएर माग्नुपर्ने परम्परा हो । स्थानीयका अनुसार मालीका देवीले कान कम सुन्ने विश्वासका कारण यहाँ वर माग्दा चिच्याउनै पर्ने प्रचलन छ । यस मन्दिरमा गुल्मी जिल्लाका साथै अर्घाखाँची, बाग्लुङ, प्युठान, बुटवल, काठमाडौँलगायत विभिन्न क्षेत्रबाट श्रद्धालु आउने गर्दछन् । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भाकल पूरा भएपछि पुनः मन्दिरमै आएर बली चढाउने परम्परा रहेको छ । मन्दिरसँगै जोडिएको चट्टानबाट बाह्रै महिना पानी बगिरहने यहाँको अर्को मुख्य आकर्षणको रूपमा रहेको छ । सोही पानीबाट बनेको सानो कुण्ड र त्यसमा रहेका रङ्गीविरङ्गी माछाको दृश्यले पर्यटकलाई थप आकर्षित बनाउँछ । विशेषगरी बैकुण्ठ चतुर्दशी र कार्तिक शुक्ल चतुर्दशीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । पौराणिक मान्यताअनुसार करिब पाँच हजार वर्षअघि यस क्षेत्रको उत्पत्ति भएको विश्वास गरिन्छ । यस क्षेत्रमा किम्मु, बर र सिमलका रुखमुनि माल्याश्री ऋषिले तपस्या गरेको किंवदन्ती छ । पानीको अभाव हुँदा देवी मालीका भगवती प्रकट भई जलकुण्ड सृजना गरेर जीवजन्तुको रक्षा गरेको भन्ने जनविश्वास रहिआएको छ । त्यसका अतिरिक्त श्री स्वस्थानी व्रत कथामा पनि यसलाई शक्तिपीठका रूपमा उल्लेख गरिएको पाइन्छ । जसका कारण माघ महिनामा यहाँ बली चढ्दैन । पर्यटकीय दृष्टिले पनि मालीका क्षेत्र महत्वपूर्ण मानिन्छ । मन्दिर नजिकै सञ्चालनमा रहेको स्वाँरा होमस्टेमा पुगेर आगन्तुकले स्थानीय परिकारको स्वाद लिन सक्ने व्यवस्था छ । मालीका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिका तथा प्रदेश सरकारबाट सडक, खानेपानी तथा मन्दिर पुनःनिर्माणलगायतका क्षेत्रमा सहयोग भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले बताउनुभयो । पछिल्लो समयमा मुसिकोट नगरपालिकामा रहेको मालीका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । तर यस मन्दिरको आफँैमा भिन्नै प्रकारको महत्व हुँदाहुँदै पनि प्रचार–प्रशारको हुन नसकेका कारण बत्ती मुनिको अँध्यारो जस्तै बनेको स्थानीय ज्ञानहरी सापकोटाले बताउनुभयो ।

प्रकाशित : २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६