दमौली (तनहुँ), १ वैशाख
देवघाटको महत्त्व र महिमा चिनाउन देवघाट क्षेत्र विकास समितिले देवघाट दिग्दर्शन पुस्तक प्रकाशन गरेको छ । समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले देवघाट क्षेत्रको धार्मिक महत्त्वलाई उजागर गर्दै यसको बहुपक्षीय महत्वलाई जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउनुभयो । एक सय २४ पृष्ठको उक्त पुस्तकमा देवघाट क्षेत्रको परिचय, देवघाट क्षेत्रको विकासक्रम, देवघाट क्षेत्रका दर्शनीय स्थलहरू, सामाजिक संस्कार र चाडपर्वहरू, देवघाटमा धार्मिक पर्यटन, कालीगण्डकी र शालिग्राम, देवघाट क्षेत्रको गुरुयोजना तथा देवघाट क्षेत्र विकास समितिको काम, कर्तव्य र अधिकारहरू समेटिएका छन् । पुस्तकका सम्पादन मण्डलका संयोजक डिआर पोखरेलले दामोदर कुण्ड र गोसाइँकुण्डबाट प्रवाहित हुने कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल देवघाटधामलाई केन्द्रविन्दुमा राखेर तनहुँ, चितवन र नवलपरासी सुस्तापूर्व जिल्लाका तटीय भाग समेटेर विशाल देवघाटको संरचना तयार पारिएको बताउनुभयो । उहाँले सोही कारणले देवघाट क्षेत्रको धार्मिक महत्त्वलाई थप उजागर गर्दै केही भिन्न शैलीमा र केही अन्तरराष्ट्रिय भाषा समावेश गरी पुस्तक तयार पारिएको जानकारी दिनुभयो । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले देवघाट मुलुकको प्रमुख धार्मिक क्षेत्र भएकाले सरकारले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रको समग्र विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै आयआर्जन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । दामोदरकुण्डबाट शालिग्रामसहित प्रवाहित कालीगण्डकी नदीलाई ‘डाइभर्सन’ गरेमा देवघाटको अस्तित्व लोप हुने हुँदा कालीगण्डकी डाइभर्सनको योजना रद्द गर्नुपर्ने स्वामी ज्ञानानन्द सरस्वतीले बताउनुभयो । देवघाट चितवन, तनहुँ र नवलपुरको भूमि मात्र नभएर हिन्दू धर्मावलम्बीको आस्थाको प्रतीक मानिनुका साथै कालीगण्डकी र त्रिशूलीको शिरसम्म देवघाटको भूमि मानिने भन्दै उहाँले पवित्र नदीहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी नदी राजनीतिको चपेटामा परेको हुँदा राजनीतिक खिचातानीबाट कालीगण्डकी जोगाउनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया