कर्णाली, ९ वैशाखः
ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजक समितिका अध्यक्ष नवीन योगीले जगत् जननी सत्यदेवीको नाभी पतन भएको नाभीस्थानमा यही वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन हुने जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पञ्चकोशी क्षेत्रको महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पक्षलाई उजागर गर्न, पूर्वाधारको तीव्र विकास गराउन र धार्मिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनको तयारी थालिएको अध्यक्ष योगीले बताउनुभयो । उहाँका अनुसार धार्मिक मेला सञ्चालन गर्न रु २२ लाख खर्च हुने अनुमान गरिएको छ । “पादुका, नाभिस्थान, कोटीला, श्रीस्थान र धुलेश्वरसहितको पाँच शक्तिपीठहरुलाई समेटेर पञ्चकोशीको नाम दिइएको केन्द्र भाग पर्ने नाभीस्थानमा सञ्चालन हुने मेलामा नेपालभरि तथा भारतबाट धर्मप्रति आस्थावान श्रद्धालुजनहरु आउने आशा गरिएको छ”, उहाँले भन्नुभयो, “भारतबाट आउने र नेपालका योगी, सन्तहरुका लागि आवाससहित सबै कुराको प्रबन्ध गरिएको छ ।” पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरु यस क्षेत्रमा देव कर्म, पितृ कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन् । भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्वसमेत ओगटेको पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र पनि हो । विसं २०७२ को चैतमा नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौताअनुसार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजना नेपाल सरकारले स्वीकृत गरी हाल सञ्चालनमा रहेको छ ।








प्रतिक्रिया