अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श



काठमाडौँ, २७ वैशाख:

मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ । सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सरकार, निजी क्षेत्र र हरेक परिवारले पालना गर्नुपर्नेमा जोड दिइएका छन् । कार्यक्रममा दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले नेपालको संविधानको धारा ४१ मा राज्यबाट ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सुरक्षा तथा धारा ४३ मा आर्थिक रूपमा विपन्न र असहाय नागरिको सामाजिक सुरक्षाको हकको प्रबन्ध गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । केन्द्र सरकार र विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, सरकारी अस्पतालमा निःशुल्क सेवा, यातायातमा छुट, घरदैलो स्वास्थ सेवा प्रदान गरिएका बारे कार्यक्रममा अवगत गराइएको थियो । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले पालिकाले नागरिक आरोग्य केन्द्रलगायत ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष महत्व दिएको बताउनुभयो । जनसङ्ख्याविद् प्रा डा पदमप्रसाद खतिवडाले २०५८ ज्येष्ठ नागरिकसम्बन्धी नीति र २०६३ मा कानुन आइसकेको उल्लेख गर्दै नेपालले नीतिगत तहमा उदाहरणीय काम गरेको बताउनुभयो । पूर्वराजदूत उदयराज पाण्डेले समूह र परिवारमा सँगै बस्दा सम्मान, प्रेरणा र सुरक्षा प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । जनसङ्ख्या अध्येता चेतन अधिकारीले सञ्चारमाध्यमले राजनीतिक विषयलाई बढी महत्व दिँदा ज्येष्ठ नागरिकका विषय ओझेलमा परेको विश्लेषण गर्नुभयो । प्रतिष्ठनका कार्यकारी निर्देशक डा दीपेन्द्र श्रेष्ठले दुईदिने सम्मेनलनका निष्कर्षलाई समापनसत्रमा घोषणापत्रका रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको उक्त सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउद्योगमन्त्री केशवप्रसाद बडाल, पूर्वशिक्षामन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो । ‘ज्येष्ठ नागरिकको अनुभव लिऔँ, सभ्य समाजको निर्माण गरौँ’ भन्ने नाराका शनिबार सम्मेलन सुरु भएको थियो ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६