काठमाडौँ ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला महामारीका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ। अवस्था दिनप्रतिदिन गम्भीर र नियन्त्रण बाहिर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यस प्रकोपलाई ‘अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने थप ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको छ। यो रोग तीव्र गतिमा समुदायस्तरमा फैलिरहेकाले स्वास्थ्य क्षेत्रका विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कङ्गोका स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार यसपटक फैलिएको इबोला भाइरसविरुद्ध लड्न हाल कुनै खोप उपलब्ध छैन। खोप र ठोस उपचारको अभावका कारण यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अवस्थालाई मध्यनजर गर्दै विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले कङ्गोमा ठूलो मात्रामा राहत सामग्री र विशेष उपचार टोली पठाउने तयारी गरिरहेका छन्।
यो प्रकोप कङ्गोको इटुरी क्षेत्रबाट सुरु भएको हो, जसको सिमाना युगान्डा र दक्षिण सुडानसँग जोडिएको छ। सीमावर्ती क्षेत्र भएकाले यो महामारी छिमेकी देशहरूमा पनि फैलिन सक्ने उच्च जोखिम रहेको छ। यस प्रकोपको प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ।
स्थानीय बासिन्दाका अनुसार क्षेत्रमा आवश्यक उपचार केन्द्र र आइसोलेसन वार्डहरूको चरम अभाव छ। अस्पतालमा ठाउँ नपाउँदा र उपचार नहुँदा कतिपय बिरामीहरूको घरमै मृत्यु भइरहेको छ, जसका कारण परिवार र छिमेकीहरूमा रोग अझै तीव्र रूपमा फैलिने खतरा बढेको छ। विश्व स्वास्थ्य सङ्गठनले यो संवेदनशील अवस्था अझै भयावह हुन सक्ने चेतावनी दिँदै आसपासका क्षेत्र र अन्तर्राष्ट्रिय समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।









प्रतिक्रिया