कञ्चनपुर, ४ जेठ ः यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए ।आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।तल्लो पेट दुख्ने समस्या लिएर शिविरमा पुगेका दुई महिलामा पाठेघर खसेको समस्यासमेत फेलापरेको जनाइएको छ । वडाध्यक्ष चक्रबहादुर खडकाले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले समयमै स्वास्थ्य परीक्षण र उपचारको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो । शिविरमा स्त्रीरोगसम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, उच्च रक्तचापसम्बन्धी सेवा, सुगरसम्बन्धी सेवा र दमखोकीसम्बन्धी सेवा प्रदान गरिएका थिए । वडा कार्यालयले प्रत्येक वर्ष स्वास्थ्य शिविर तथा आँखा उपचार शिविर आयोजना गरी स्थानीय नागरिकलाई निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।
४ जेष्ठ २०८३, सोमबार









प्रतिक्रिया