तनहुँ, २४ जेठः प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा पायल्स र सिफरको निःशुल्क शल्यक्रिया गरिएको छ । भिमाद आयुर्वेद औषधालयमा सञ्चालन गरिएको शिविरमा रोग पहिचान भएका ४५ बिरामीलाई प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा झिकाई निःशुल्क शल्यक्रिया गरिएको हो । शल्यक्रियाका लागि नरदेवी अस्पतालबाट आउनुभएका शल्यविज्ञ रमेश पौडेलको नेतृत्वमा प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा नारायण श्रेष्ठ, डा प्रशान्त श्रेष्ठ, डा स्मारिका बस्नेत र डा अस्मिता अधिकारीको टोली खटिएको थियो ।पायल्स, फिसर र फिस्टुलालगायतको रोगबाट पीडितको शल्यक्रिया गरिएको चिकित्सालयका प्रमुख डा नारायण श्रेष्ठले बताउनुभयो । अस्वस्थ खानपान, व्यस्त जीवनशैलीका कारण यी रोगको सङ्क्रमण बढ्दै गएपछि आफूहरूले गण्डकी प्रदेश सरकारलाई प्रस्ताव गरेअनुसारको स्वीकृत कार्यक्रमबाट बिरामीको शल्यक्रिया गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो ।भिमाद नगरपालिकाकी बिरामी मीनाकुमारी थापाले आफूले दुई वर्ष पहिले करिब रु ४५ हजार खर्च गरेर प्राइभेट आयुर्वेद क्लिनिकमा शल्यक्रिया गरे पनि रोग बल्झिएको कारण पुनः उपचार गराउन आएको बताउनुभयो । शिविर सञ्चालन गरी रोग पहिचानसहित शल्यक्रिया गरिएपछि बिरामीको चाप ह्वात्तै बढेको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले बताउनुभयो ।शल्यविज्ञ रमेश पौडेलका अनुसार कब्जियत, असन्तुलित खानपान, अनियमित जीवनशैली तथा आहारविहारमा ध्यान नदिँदा गुद्वारसम्बन्धी रोगहरूको जोखिम बढ्दै गएको हो । समयमै परीक्षण र उपचार गराएमा यस्ता रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।
२५ जेष्ठ २०८३, सोमबार









प्रतिक्रिया