कपिलवस्तु, असार १७
बुद्धभूमि नगरपालिकाले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण (सोसल अडिट) प्रतिवेदन सार्वजनिक तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक परीक्षणले स्वास्थ्य संस्थाको वास्तविक अवस्था पहिचान गर्दै सेवा सुधारका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाबीच साझा उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको छ।
बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता तथा सेवाग्राही सन्तुष्टिको मूल्याङ्कन गरी तयार गरिएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। कार्यक्रम नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने यसको प्राविधिक व्यवस्थापन कमन नेपाल खोज तथा अनुसन्धान प्रतिष्ठान, बाणगंगा–४, कपिलवस्तुले गरेको थियो।

कार्यक्रममा विषय विज्ञ पोमनारायण पौडेलले सामाजिक परीक्षणबाट प्राप्त तथ्य, उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरू समेटिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक परीक्षण मूल्याङ्कनको प्रक्रिया नभई सेवामा निरन्तर सुधार ल्याउने प्रभावकारी उपकरण भएको उल्लेख गर्नुभयो।

अध्यक्षीय मन्तव्यका क्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले नागरिकलाई गुणस्तरीय, सहज र उत्तरदायी स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी योजना, नीति तथा कार्यक्रम निर्माणमा समावेश गर्दै स्वास्थ्य सेवामा देखिएका कमजोरी सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले सामाजिक परीक्षणले स्वास्थ्य सेवामा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्यान्वयनतर्फ लैजान सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु खनालले स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक परीक्षण प्रक्रियाले स्वास्थ्य संस्थाको सेवा सुधारका लागि तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कमन नेपाल खोज तथा अनुसन्धान प्रतिष्ठानका प्रबन्ध निर्देशक लक्ष्मण प्रसाद बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरका वडाका अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुख, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, पूर्वाधार, औषधि व्यवस्थापन, मानव स्रोत, सेवाग्राहीमैत्री व्यवहार तथा समग्र स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझाव दिएका थिए। सहभागीहरूको सुझावलाई अन्तिम प्रतिवेदनमा समावेश गरी कार्यान्वयनका लागि नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ।
सामाजिक परीक्षणले स्थानीय स्वास्थ्य सेवाको वास्तविक अवस्था उजागर गर्नुका साथै नागरिकको आवाजलाई नीति तथा योजना निर्माणसँग जोड्ने अवसर प्रदान गरेको सहभागीहरूको धारणा थियो। यस प्रकारका अभ्यासले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्य क्षेत्रमा सुशासन, उत्तरदायित्व र सेवा गुणस्तर सुधारमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया