खोज–अनुसन्धान

बालश्रममुक्त अभियानमा बाणगङ्गाको राष्ट्रिय पहिचान सम्मानसँगै सामाजिक उत्तरदायित्व अझ सुदृढ



कपिलवस्तु १९ असार

बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने राष्ट्रिय अभियानमा उल्लेखनीय सफलता हासिल गर्दै कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा दर्ज गरेको छ। बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ ले निर्धारण गरेका सम्पूर्ण सूचकहरू सफलतापूर्वक पूरा गरी बालश्रममुक्त स्थानीय तह घोषणा गर्न सफल भएपछि बाणगङ्गा नगरपालिकालाई युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्मानपत्र प्रदान गरेको हो।


एक विशेष कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याललाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो। यो सम्मान एउटा प्रमाणपत्रमा सीमित नभई बाल अधिकार संरक्षण, सामाजिक न्याय, उत्तरदायी स्थानीय शासन तथा समावेशी विकासप्रतिको बाणगङ्गा नगरपालिकाको दृढ प्रतिबद्धताको राष्ट्रिय स्वीकारोक्ति भएको सरोकारवालाहरूको भनाइ छ।
सम्मान ग्रहणपछि नगर प्रमुख चक्रपाणी अर्यालले मन्त्रालयबाट प्राप्त यो सम्मानले सम्पूर्ण बाणगङ्गावासीको शिर उच्च भएको बताउँदै यस उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट सम्भव नभई नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विद्यालय, अभिभावक, नागरिक समाज, सञ्चारमाध्यम तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील सम्पूर्ण पक्षहरूको साझा योगदानको परिणाम भएको उल्लेख गर्नुभयो।

उहाँले बालश्रम अन्त्य अभियानमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण बाणगङ्गावासीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मान प्रदान गर्ने युवा, श्रम तथा रोजगार मन्त्रालय तथा मन्त्री रामजी यादवप्रति पनि आभार प्रकट गर्नुभयो। यस सम्मानले नगरपालिकालाई अझ जिम्मेवार, सिर्जनशील र उत्कृष्ट कार्यसम्पादनतर्फ प्रेरित गरेको उल्लेख गर्दै आगामी दिनमा बाणगङ्गालाई देशकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने अभियानलाई थप प्रभावकारी बनाइने धारणा व्यक्त गर्नुभयो।
नगर प्रमुख अर्यालले समृद्ध बाणगङ्गा निर्माणको यात्रामा सम्पूर्ण नगरवासीबाट निरन्तर रचनात्मक सुझाव, सहकार्य तथा सकारात्मक सहभागिताको अपेक्षा गर्दै विकास, सुशासन र सामाजिक उत्तरदायित्वका अभियानलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो।
नेपालको संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। त्यसैअनुरूप बालश्रम अन्त्य गर्नु कानुनी दायित्व मात्र होइन, सभ्य, समतामूलक र समुन्नत समाज निर्माणको आधार पनि हो। बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक तथा शारीरिक विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यलाई दिगो विकासका महत्वपूर्ण सूचकहरूमध्ये एक मानिन्छ।
बाणगङ्गा नगरपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधिअनुसार आवश्यक कानुनी, संस्थागत तथा व्यवहारिक सबै सूचकहरू पूरा गर्दै बाल अधिकार संरक्षणको क्षेत्रमा उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ। यो सम्मानले नगरपालिकाले सामाजिक विकास, मानव अधिकार संरक्षण तथा बालमैत्री स्थानीय शासनको क्षेत्रमा अवलम्बन गरेको नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको पुष्टि गरेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको तर्क रहेको छ।
विश्लेषकहरूका अनुसार बाणगङ्गाले प्राप्त गरेको यो राष्ट्रिय सम्मान अन्य स्थानीय तहका लागि पनि प्रेरणाको विषय बनेको छ। बालश्रममुक्त समाज निर्माणका लागि स्थानीय सरकार, अभिभावक, विद्यालय, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण समुदायबीचको सहकार्य नै दीर्घकालीन सफलताको आधार हुने स्पष्ट सन्देश यस उपलब्धिले दिएको छ।

बालबालिकाको अधिकार संरक्षण, सुरक्षित भविष्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने अभियानलाई व्यवहारमा रूपान्तरण गर्दै बाणगङ्गा नगरपालिकाले राष्ट्रिय स्तरमा प्राप्त गरेको यो सम्मान सामाजिक उत्तरदायित्व, सुशासन र मानवीय विकासप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको नगर उपप्रमुख रिता कुमारी चौधरीको भनाइ रहेको छ।


प्रकाशित : १९ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६