कपिलवस्तु, असार २३
बाणगंगा नगरपालिकाले नागरिकलाई स्थानीय तहबाट प्रवाह हुने सेवा घरदैलोमै सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको एकदिने एकीकृत घुम्ती शिविरबाट वडा नं. ९ का ९०४ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्।
नगरपालिकाले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वडा नं. ९ स्थित भर्तापुर आधारभूत विद्यालय परिसरमा आयोजित शिविरमा विभिन्न शाखाबाट प्रदान गरिने अत्यावश्यक सेवाहरू एकै स्थानबाट उपलब्ध गराइएको थियो। सेवा लिन नगरपालिकासम्म पुग्नुपर्ने बाध्यता कम गर्दै नागरिकमैत्री सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाइएको छ।

विज्ञप्ति अनुसार शिविरमा सबैभन्दा बढी आयुर्वेद सम्बन्धी सेवातर्फ २५४ जना लाभान्वित भएका छन्। त्यसैगरी कृषि विकास सम्बन्धी सेवाबाट २५२ जना, स्वास्थ्य सम्बन्धी सेवाबाट १३७ जना र पशु सेवा सम्बन्धी सेवाबाट १३६ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन्।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी सेवाबाट ९१ जना, राजस्व सम्बन्धी सेवाबाट १२ जना तथा सुरक्षित आप्रवासन सम्बन्धी सेवाबाट पनि १२ जना लाभान्वित भएको नगरपालिकाले जनाएको छ।
घुम्ती शिविरले नगरपालिकाका विभिन्न शाखाबाट प्रदान गरिने सेवा एउटै स्थानमा उपलब्ध गराएकाले नागरिकको समय, श्रम र खर्च बचत भएको स्थानीयको अनुभव रहेको छ। विशेषगरी कृषि, स्वास्थ्य, आयुर्वेद र पशु सेवा जस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका सेवामा उल्लेख्य सहभागिता देखिनु ग्रामीण क्षेत्रमा यस्ता सेवाको आवश्यकता अझै उच्च रहेको रूपमा हेरिएको छ।

स्थानीय सरकार सञ्चालनको मूल मर्म नागरिकको घरदैलोमा प्रभावकारी सेवा पु¥याउनु हो। त्यसअनुसार बाणगंगा नगरपालिकाले वडा केन्द्रित घुम्ती शिविर सञ्चालन गर्दै सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्ने प्रयासलाई निरन्तरता दिएको देखिन्छ। यसले प्रशासनिक पहुँचभन्दा टाढा रहेका नागरिकलाई सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नुका साथै स्थानीय सरकार प्रति नागरिकको विश्वास अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख चक्रपाणि अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यस्ता घुम्ती शिविरमार्फत नागरिकलाई आवश्यक सार्वजनिक सेवा थप सहज, सरल र प्रभावकारी ढंगले उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया