खोज–अनुसन्धान

वन संरक्षणसँगै सामाजिक विकासको बहुआयामिक उपलब्धि



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु ६ साउन

वन संरक्षण रुख जोगाउने अभियान मात्र नभई, स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय समृद्धिसँग प्रत्यक्ष जोडिएको विकासको आधार पनि हो भन्ने उदाहरण कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको छ। समूहका अध्यक्ष सत्यनारायण थारुका अनुसार वन संरक्षण, सामाजिक उत्तरदायित्व, पूर्वाधार विकास, विपन्नमुखी कार्यक्रम र वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको तथ्य सार्वजनिक गरेको हो।
समूहका अध्यक्ष सत्यनारायण थारूले सामुदायिक वनले वन नियमावली, स्वीकृत कार्ययोजना तथा डिभिजन वन कार्यालयको निर्देशनअनुसार पुनरुत्पादन कटान, ढलापढा कटान, थिनिङ, सुधार कटान, झाडी सफाइ तथा मिचाहा प्रजाति नियन्त्रणलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताउनु भयो । अध्यक्ष थारुले वनबाट प्राप्त आम्दानीलाई वन व्यवस्थापनमा सीमित नराखी सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य धार्मिक क्षेत्रको विकासमा समेत लगानी गरिएको बताउनु भयो ।


समूहकी सचिव यशोदा पाण्डेयका अनुसार २०५७ सालमा स्थापना भई २०६७ सालमा दर्ता भएको यस सामुदायिक वनको क्षेत्रफल २६३.४३ हेक्टर रहेको र बैजलपुर, राजपुर, बैरिया र उत्तर पिपरा गरी चार मौजाका उपभोक्तालाई समेटेको यस वन अहिले जिल्लाकै नमुना सामुदायिक वनका रूपमा स्थापित हुँदै गएको बताउनु भयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा वन संरक्षणलाई प्राथमिकतामा राख्दै खण्ड नं. २ को सम्पूर्ण क्षेत्रमा तथा पुनरुत्पादन कटान क्षेत्रमा झाडी सफाइ, फायरलाइन निर्माण तथा मर्मत, वन सीमामा जालीतार तथा काँडेतार लगाउने, पुनरुत्पादन क्षेत्र सुरक्षित गर्ने, ढलापढा र पुनरुत्पादन गरी ३५० वटा रुख छपान तथा संकलन गर्ने लगायतका कार्य सम्पन्न गरिएको जानकारी दनु भयो । वन अतिक्रमण रोक्न र वन्यजन्तुको संरक्षण गर्न करिब २,९५७ मिटर क्षेत्रमा जालीतार लगाइएको स्पष्ट पार्नु भयो ।
वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि समूह सक्रिय देखिएको छ। सचिव पाण्डेयका अनुसार पिपरा अस्पताललाई ६ वटा टेबल पंखा उपलब्ध गराइएको छ भने १८५ जना ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका उपभोक्तालाई न्यानो कम्बल वितरण गरिएको बताउनु भयो ।


संगठनात्मक विकासतर्फ सामुदायिक वनको भवन रंगरोगन, संरचनागत सुधार तथा रिटेनिङ वाल निर्माण गरिएको छ। यस्तै विभिन्न सामाजिक तथा धार्मिक संस्थालाई पनि आर्थिक सहयोग गरिएको छ। बैजलपुर युवा क्लब, कोठी गौशाला तथा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघलाई जनही एक–एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको बताइएको छ। निर्माणाधीन डिउहार मन्दिरलाई दुई लाख रुपैयाँ, दुर्गा मन्दिरलाई निर्माण सामग्री तथा बालाकुण्ठ मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ।
महिला सशक्तीकरण र युवामुखी कार्यक्रमलाई पनि समूहले प्राथमिकता दिएको छ। ३० जना महिला उपभोक्तालाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम र अवलोकन भ्रमण, ८५ जना युवालाई लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतनामूलक तालिम तथा कार्यसमिति, लेखा, अनुगमन र बिक्री वितरण समितिका पदाधिकारीलाई छ दिने अध्ययन अवलोकन भ्रमण गराइएको छ। यस्ता कार्यक्रमले वन संरक्षणसँगै समुदायको आयआर्जन, क्षमता विकास र सामाजिक सचेतना अभिवृद्धिमा टेवा पुगेको बताइएको छ ।
समूहका सहसचिव बाबुराम जैसीका अनुसार जलवायु परिवर्तनका असर न्यूनीकरणलाई ध्यानमा राख्दै पोखरी सौन्दर्यीकरण, रिचार्ज पोखरी निर्माण तथा पुनरुत्पादन क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रणको काम पनि सम्पन्न गरिएको छ। यसले प्राकृतिक स्रोत संरक्षणसँगै दीर्घकालीन जलस्रोत व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनु भयो । सहसचिव जैसीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच परिवारलाई काजक्रिया खर्च उपलब्ध गराइएको छ । त्यस्तै मृत्यु भएका ६ जनाको दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराइएको बताइएको छ । यसले सामुदायिक वनले समुदायको सुख–दुःखमा साथ दिने संस्थाका रूपमा आफ्नो भूमिका मजबुत बनाएको देखिन्छ।
यी सबै क्रियकलापहरुबाट स्पष्ट संग बुझ्न सकिन्छ की समूहको संस्थागत पक्ष पनि सुदृढ बन्दै गएको देखिएको छ। समिति, उपसमितिहरुको नियमित वैठक बसेर विभिन्न निर्णय गरिएको छ।


आगामी दिनमा समूहले वनलाई अझ हराभरा बनाउने, स्थानीयलाई रोजगारी सिर्जना गर्ने, खाली क्षेत्रमा वृक्षारोपण गर्ने, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्ने, उपभोक्तालाई सहज रूपमा काठ–दाउरा उपलब्ध गराउने, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने, पानीका स्रोत संरक्षण तथा जडीबुटीको संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।
बैजलपुर जनकल्याण सामुदायिक वनले सामुदायिक वनलाई वन पैदावार व्यवस्थापन गर्ने संस्था मात्र नभई स्थानीय विकास, सामाजिक सुरक्षा, वातावरण संरक्षण, महिला सशक्तीकरण, युवा विकास तथा जलवायु अनुकूलनको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। वनबाट प्राप्त आम्दानीलाई समुदायमै पुनः लगानी गर्ने अभ्यासले सामुदायिक वन व्यवस्थापनको मूल मर्मलाई व्यवहारमा उतारेको देखिन्छ।
वन संरक्षण र सामाजिक विकासलाई सन्तुलित रूपमा अघि बढाउने यस्ता अभ्यास अन्य सामुदायिक वनका लागि पनि अनुकरणीय बन्न सक्छन्। आगामी दिनमा पारदर्शी वित्तीय व्यवस्थापन, दिगो वन व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग तथा पर्यावरणीय पर्यटनसँग जोडिएका कार्यक्रम विस्तार गर्न सके बैजलपुर जनकल्याण सामुदायिक वन लुम्बिनी प्रदेशकै उत्कृष्ट नमुना सामुदायिक वनका रूपमा अझ स्थापित हुने विश्वास गर्न सकिन्छ ।

प्रकाशित : ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६