डिलाराम भुसाल
कपिलवस्तु, ६ साउन
मनसुनजन्य विपद् तथा अन्य सम्भावित प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लास्थित सुरक्षा निकाय र जिल्ला कारागार कार्यालयलाई विपद् उद्धार तथा अग्नि नियन्त्रणसम्बन्धी आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले संयुक्त रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा जिल्ला कारागार कार्यालयका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार सम्भावित बाढी, डुबान, आगलागी, हावाहुरी तथा अन्य आकस्मिक विपद्का बेला उद्धार तथा राहत कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक उपकरण उपलब्ध गराइएको हो।
वितरण गरिएका सामग्री मध्ये नेपाल प्रहरीलाई १० थान फायर एक्स्टिङ्गुइसर, २० थान अग्नि नियन्त्रण यन्त्र (फायर बल), २ थान चेन–स र १ थान भर्याङ उपलब्ध गराइएको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाललाई १० थान फायर एक्स्टिङ्गुइसर, १ थान चेन–स, १ थान भर्याङ, १० थान स्विमिङ ट्युब तथा २ थान फायर बल प्रदान गरिएको छ।

यस्तै, नेपाली सेनालाई १० थान फायर एक्स्टिङ्गुइसर र १ थान चेन–स हस्तान्तरण गरिएको छ भने जिल्ला कारागार कार्यालयलाई समेत अग्नि सुरक्षा व्यवस्थापनका लागि फायर एक्स्टिङ्गुइसर उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले विपद् पूर्वतयारीलाई सुदृढ बनाउनु नै क्षति न्यूनीकरणको प्रभावकारी उपाय भएको उल्लेख गर्दै सुरक्षा निकायबीचको समन्वय, स्रोत–साधनको उपलब्धता र शीघ्र परिचालनले विपद्का बेला नागरिकको जिउधनको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा आगलागीका घटनाको जोखिम बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालयले पूर्वतयारीलाई प्राथमिकता दिँदै सुरक्षा निकायको क्षमता अभिवृद्धिमा जोड दिएको जनाएको छ। जिल्लामा उपलब्ध गराइएका यी सामग्रीले विपद्को समयमा उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।










प्रतिक्रिया