कपिलवस्तु, साउन ९
हरिशयनी एकादशीको पावन अवसरमा कपिलवस्तुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्दै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ पर्यावरण निर्माण गर्ने सन्देश दिइएको छ।
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउन, इन्ट्र्याक्ट क्लब होराइजन र इन्ट्र्याक्ट क्लब ज्ञानपुञ्जको संयुक्त आयोजना तथा मधुलिया सामुदायिक वनको सहयोगमा सम्पन्न कार्यक्रममा विभिन्न जातका बिरुवा रोपेर प्रकृतिप्रति उत्तरदायित्व निर्वाह गर्ने अभियानलाई अघि बढाइएको आयोजकको भनाइ रहेको छ ।

कार्यक्रममा सहभागीहरूले हरिशयनी एकादशी धार्मिक आस्थाको पर्व मात्र नभई प्रकृति संरक्षणको संस्कारसँग पनि जोडिएको उल्लेख गर्दै एक व्यक्तिले रोपेको एउटा बिरुवाले भविष्यमा हजारौँ मानिसलाई शुद्ध हावा, हरियाली र जीवनको आधार प्रदान गर्ने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले जलवायु परिवर्तन, बढ्दो तापक्रम, वन विनाश तथा वातावरणीय प्रदूषणका चुनौतीसँग जुध्न वृक्षारोपण प्रभावकारी उपाय भएको बताए। उनीहरूले रोपिएका बिरुवाको संरक्षणलाई वृक्षारोपणभन्दा पनि महत्वपूर्ण जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए।
यस प्रकारका अभियानले धार्मिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै हरियाली विस्तार, जैविक विविधता संरक्षण र स्वच्छ वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। “आज रोपिएको एउटा बिरुवा भोलिको स्वच्छ वातावरण, सुरक्षित भविष्य र समृद्ध पृथ्वीको आधार हो। हरियाली जोगाऔँ, प्रकृतिलाई माया गरौँ।“










प्रतिक्रिया