ब्रेकिंग न्युज

दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै



काठमाडौँ, ११ साउन

नेपालको दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनका लागि जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ । नेपालको सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जापान टु नेपालः इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीले करिब रु ८० करोडभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका छन् । कार्यक्रमले नेपालमा हरित प्रविधिमार्फत कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा ऊर्जा दक्षता अभिवृद्धिका नयाँ सम्भावना औँल्याएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल र जापानबीच प्रविधिमा आधारित सहकार्य विस्तारले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण तथा वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनुभयो । सन्दिपानी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नरेशचन्द्र ओझाले जापान–नेपाल सहकार्य केवल व्यापारिक सम्बन्धमा सीमित नभई भविष्य निर्माण गर्ने साझा अभियान भएको बताउनुभयो । “हाम्रो साझा दृष्टि नवप्रवर्तन, साझेदारी र दिगो विकास हो, यस्ता सहकार्यबाट नेपालमा नयाँ व्यवसाय, रोजगारी र दीर्घकालीन आर्थिक अवसर सृजना गर्न सकिन्छ”, उहाँले भन्नुभयो । जापानको ट्रिम कम्पनी लिमिटेडका अध्यक्ष त्सुबोई इवाओले प्रयोग गरेर फालिएका सिसाबाट उत्पादन हुने ‘सुपर सोल’ सामग्रीको प्रस्तुति दिनुभएको थियो । उहाँले पुनः प्रशोधित सिसाबाट बन्ने यो हलुका, छिद्रयुक्त सामग्री कृषि, बागवानी, जल शुद्धीकरण, निर्माण तथा हरित पूर्वाधारमा प्रयोग गर्न सकिने र यसले फोहरलाई स्रोतमा रूपान्तरण गर्न सकिने बताउनुभयो । डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचिओले नेपालमा भित्रिने ‘अक्सिजन फिल्टर’ प्रविधिबारे प्रस्तुति दिनुभएको थियो । उहाँले उक्त प्रविधिले पानीमा उच्च मात्रामा अक्सिजन घोल्ने प्रणालीमार्फत नदी, ताल, मत्स्यपालन, कृषि तथा फोहर पानी शुद्धीकरणमा उपयोगी हुने जानकारी दिनुभयो । कोदु जापान कम्पनी लिमिटेडका अध्यक्ष कोशाकाइ तोशियाकीले ऊर्जा बचत गर्ने सुपर लिड प्रविधिबारे प्रस्तुति दिनुभएको थियो । उहाँले नेपालमा हाल उपलब्ध सस्तो एलइडीकै मूल्यमा जापानी गुणस्तरको एलइडी उपलब्ध गराउने तथा आगामी तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको बताउनुभयो । मितोमी कम्पनी लिमिटेडका अध्यक्ष तानाका योनेकाजुले दिगो चर्पी प्रणाली प्रस्तुत गर्दै न्यून पानी प्रयोग, सरसफाइ सुधार तथा वातावरणमैत्री फोहर व्यवस्थापनमार्फत दिगो सरसफाइ प्रवर्द्धन गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रस्तुत गरिएका परियोजनाअन्तर्गत सुपर सोलमा करिब रु ५० करोड, सुपर लिडमा रु २५ करोड, अक्सिजन फिल्टरमा रु १५ करोड, सस्टेनेवल ट्वाइलेटमा रु १० करोड तथा मिजुकी हाइ वाटरमा रु पाँच करोडबराबरको सम्भावित लगानी गर्न सकिने बताइएको थियो । —

प्रकाशित : ११ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६