काठमाडौँ, १५ साउन
अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशसमेत रहनुभएका सम्पादन तथा प्रकाशन समितिका संयोजक हरि फुयाँल, न्यायाधीश सुनील पोखरेल, नेपाल बार एसोसिएनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रलगायतले उक्त पुस्तकको सार्वजनिक गर्नुभएको हो । न्यायाधीश फुयाँलले कानुनी पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारका लागि तथा नवप्रवेशीका लागि यो पुस्तक मार्गदर्शन गर्न थप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधिको विकाससँगै अदालत अहिले सूचनामा पारदर्शी बन्दै गएकाले जनगुनासो नआउनेगरी काम हुन थालेको उहाँले बताउनुभयो । “कानुनी पत्रकारिता पहिलाभन्दा स्तरीय हुँदै गएको छ । पहिला कानुनमा समाचार लेख्ने पत्रकारको सङ्ख्या नगन्य हुन्थ्यो । अहिले सङ्ख्यात्मक वृद्धि भएको छ”, न्यायाधीश फुयाँलले भन्नुभयो, “अदालतहरूले प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्था गरेका छन्, वेबसाइटबाटै पनि सूचना लिनसक्ने व्यवस्था गरिँदैछ, यसबाट पनि पत्रकारलाई सहजीकरण हुँदै आएको छ ।” बारका अध्यक्ष प्रा डा मिश्रले उक्त प्रकाशन न्यायिक पत्रकारिताका लागि मात्रै नभएर समग्र पत्रकारिताका लागि महत्त्वपूर्ण स्रोत सामग्री हुने विश्वास व्यक्त गर्नुभयो । “कानुनी क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्नेका लागि पुस्तक महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सामान्य कानुनी ज्ञान हासिल गरेको वा कानुनी ज्ञानै नभएकाले अदालतको समाचार लेख्दा तात्विक भिन्नता पर्दर्छ ।” मञ्चका पूर्वअध्यक्ष डा लीलाधर उपाध्यायले पुस्तक अदालती पत्रकारिता गर्ने पत्रकारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताउँदै यसले अदालती पत्रकारिता क्षेत्र झनै उत्तरदायी बन्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । मञ्चका अध्यक्ष कालिका खड्काले मार्गदर्शन अदालती समाचार लेख्ने, कानुनी पत्रकारिताको विषयमा अध्ययन गर्न चाहनेका लागि महत्त्वपूर्ण स्रोत सामग्री बन्न सक्ने बताउनुभयो । तीन वर्षको तयारीबाट पुस्तक प्रकाशनमा ल्याइएको जनाउँदै उहाँले अदालतली पत्रकारितका विषयमा समाचार लेख्नेका लागि यो सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । मञ्चले सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिसँगको सहकार्यमा तयार गरेको सो पुस्तकको मञ्चका पूर्वअध्यक्ष डा उपाध्याय र सर्वोच्च अदालतका शाखा अधिकृत राकेश बमले लेखन तथा सम्पादन गर्नुभएको हो । पुस्तकमा नेपालको न्यायिक र अदालती पत्रकारिताको इतिहास, मिथ्या सूचना पत्ता लगाउने तरिका, अदालती बिट पत्रकारिता गर्दा अपनाउनुपर्ने संवेदनशीलता, अदालती पत्रकारिताका चुनौती, अदालती पत्रकारिता र अदालतको अवहेलनासम्बन्धी विषय र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरू समेटिएका छन् । यस्तै संवैधानिक व्यवस्था, अदालतहरू, न्याय सम्पादन गर्ने अर्धन्यायिक निकाय, अदालती मुद्दाका प्रक्रिया, अदालतमा मानव संशाधन, अदालतको अवहेलनासम्बन्धी कानुन, अदालती समाचार लेख्दा पालना गर्नुपर्ने आचरणगत मार्गदर्शन समेटिएका छन् । कार्यक्रममा सर्वाेच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, बारका महासचिव केदार कोइराला, विशेष अदालत, बार एसोसिएसनका अध्यक्ष टीकाराम कुँवर, संसद् सचिवालयका पूर्वसचिव राजेन्द्र फुयाँलले, ‘जष्ट नेपाल डटकम’का सम्पादक अरुण बराललगायत न्यायकर्मी र सञ्चारकर्मीको सहभागिता थियो ।










प्रतिक्रिया