कपिलवस्तु, १७ साउन
भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कपिलवस्तुले वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका नीति तथा बजेटलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। शनिबार बाणगंगा नगरपालिका–१, उत्तमनगरस्थित संस्थाको आफ्नै भवन परिसरमा सम्पन्न कार्यक्रममा संस्थाले शुद्ध खानेपानी वितरण र सरसफाइ प्रवर्द्धनमा हासिल गरेको उपलब्धिको समीक्षा गर्दै आगामी योजनामाथि व्यापक छलफल गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाकी सल्लाहकार बालकुमारी पन्तले संस्थाले स्थापना कालदेखि नै खानेपानी क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले नियमित वार्षिक समीक्षा तथा नीति–बजेट तर्जुमामार्फत संस्थाले आफ्नो सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै आएको उल्लेख गर्नुभयो।
संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहका अनुसार हालसम्म तीन हजारभन्दा बढी धारामार्फत उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराइएको छ। उहाँले आगामी वर्ष खानेपानीको गुणस्तर परीक्षणलाई नियमित बनाउने, पाइपलाइन विस्तार तथा मर्मत–सम्भार गर्ने, पानी ट्यांकीको स्तरोन्नति गर्ने र समुदायमा सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
कार्यक्रममा दियालो टेक्नोलोजीका निरज देवकोटा र विशाल तिमिल्सिनाले दुई महिनाको अध्ययनपछि तयार गरिएको खानेपानी पहुँच विस्तारसम्बन्धी भौगोलिक अनुसन्धान तथा डिजिटल नक्साङ्कन (म्यापिङ) प्रस्तुत गर्दै भविष्यमा सेवा विस्तारका सम्भावित क्षेत्रबारे जानकारी गराउनुभयो।
संस्थाका सचिव विजय शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष झलकबहादुर मल्ल, अनुगमन समिति संयोजक बालाराम ज्ञवाली, लेखा समिति संयोजक कमल पौडेल, टेकेन्द्र क्षेत्री, निर्मल शाही, सदस्य विष्णु राना, बेलुका बुढाथोकीलगायतले संस्थाको सेवा थप गुणस्तरीय बनाउन सुझावसहित धारणा राख्नुभएको थियो।
वि.सं. २०६५ सालमा स्थापना भएको भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कपिलवस्तुमा सुरक्षित र शुद्ध खानेपानी पहुँच विस्तार गर्दै समुदायको स्वास्थ्य तथा सरसफाइ सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।










प्रतिक्रिया