कपिलवस्तु, १८ साउन
वाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा शिक्षा तथा खेलकुद क्षेत्रलाई सबैभन्दा प्राथमिकतामा राख्दै रु. ४३ करोड ६८ लाख ६२ हजार बजेट विनियोजन गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमअनुसार विद्यार्थीको सिकाइ, पहुँच, प्रविधिमैत्री शिक्षा, विद्यालय पूर्वाधार र खेलकुद विकासलाई समेटेर महत्वाकांक्षी कार्यक्रम अघि सारेको हो।
यस वर्षको बजेटमा विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजता प्रदान गर्न अटो रिक्सा वितरणका लागि रु. २२ लाख छुट्याइएको छ। नगरपालिकाको यो कार्यक्रम दुर्गम तथा टाढाका बस्तीका विद्यार्थीलाई विद्यालयसँग जोड्न प्रभावकारी हुने अपेक्षा गरिएको छ।
शिक्षा तथा खेलकुद क्षेत्रका लागि विनियोजित कुल बजेटमध्ये रु. ३८ करोड ४० लाख ४४ हजार संघीय सरकारको सशर्त अनुदानबाट प्राप्त हुनेछ भने रु. ५ करोड २८ लाख १८ हजार नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।
नगरपालिकाले शिक्षक तथा विद्यालय कर्मचारी व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएको छ। आधारभूत तहका शिक्षकका लागि रु. २० करोड ७० लाख र माध्यमिक तहका शिक्षकका लागि रु. ७ करोड २८ लाख अनुदान विनियोजन गरिएको छ। साथै बालविकास सहजकर्ता, विद्यालय सहायक (लेखापाल) र विद्यालय सहयोगीको पारिश्रमिक व्यवस्थापनका लागि पनि नगर स्रोतबाट थप बजेट छुट्याइएको छ।
विद्यार्थी लक्षित कार्यक्रममा निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति तथा छात्राका लागि निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनलाई निरन्तरता दिइएको छ। विपन्न तथा आवासीय छात्रवृत्ति कार्यक्रमसँगै जेहेन्दार विद्यार्थीलाई स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ।
स्थानीय पाठ्यक्रम विकासतर्फ नगरपालिकाले ‘हाम्रो बाणगंगा’ पाठ्यपुस्तकलाई थप व्यवस्थित बनाउने योजना अघि सारेको छ। कक्षा १ देखि ८ सम्मका लागि पाठ्यपुस्तक लेखन, विकास, छपाइ तथा वितरणमा बजेट विनियोजन गरिएको छ। यसले स्थानीय इतिहास, संस्कृति, भूगोल तथा पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने विश्वास गरिएको छ।
प्रविधिमैत्री शिक्षालाई जोड दिँदै विद्यालयमा इन्टरनेट जडान, प्रोजेक्टर वितरण, सूचना प्रविधि प्रयोगसम्बन्धी क्षमता विकास तथा गणित प्रयोगशाला स्थापना कार्यक्रमसमेत सञ्चालन गरिनेछ। यसबाट सामुदायिक विद्यालयमा आधुनिक सिकाइ वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि डेस्क–बेन्च खरिद, आवश्यक मर्मत–सम्भार तथा अन्य पूर्वाधार विकासमा पनि बजेट विनियोजन गरिएको छ।
खेलकुद क्षेत्रलाई पनि शिक्षा विकाससँगै अघि बढाउने लक्ष्यअनुसार राष्ट्रपति रनिङ शिल्ड, मेयर कप क्रिकेट, उप–प्रमुख भलिबल तथा शिक्षक ब्याडमिन्टनसहित विभिन्न प्रतियोगिताका लागि बजेट सुनिश्चित गरिएको छ। यसबाट विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान र प्रोत्साहन हुने नगरपालिकाको विश्वास छ।
नगरपालिकाले यस वर्षको बजेटमार्फत गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, विद्यार्थीमैत्री यातायात, स्थानीय पाठ्यक्रम, खेलकुद प्रवर्द्धन तथा विद्यालयको भौतिक सुदृढीकरणलाई एउटै रणनीतिमा समेटेको छ। ४३ करोड ६८ लाख ६२ हजार रुपैयाँको यो लगानीले बाणगंगाका सामुदायिक विद्यालयमा अध्ययनको वातावरण सुधार्नुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ










प्रतिक्रिया