जीवनशैली

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले तोडिन् अनशन



blog

काठमाडौँ, साउन २० — अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको वार्तापछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिपछि रानाभाटले जुस पिएर आफ्नो सात दिनदेखि जारी अनशन अन्त्य गर्नुभयो। उहाँले साउन १४ गतेदेखि आमरण अनशन सुरु गर्नुभएको थियो।

सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। अभियन्ताका तर्फबाट ज्योति रानाभाटसहित प्रतिनिधिमण्डलले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ।

सहमतिअनुसार सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न सात दिनभित्र कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले कम्तीमा छ महिनाभित्र प्रतिवेदन तयार गर्नेछ।

छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफको योग्यता र विशेषज्ञताअनुसार जिम्मेवारी, सेवा–सुविधा तथा नेतृत्वको अवसर सुनिश्चित गर्न ‘चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ लाई ३० दिनभित्र संशोधन गर्ने सहमति भएको छ।

राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीतिअनुसार सहायक नर्स–मिडवाइफ (एएनएम) लाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ तथा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने तथा आगामी शैक्षिक सत्रदेखि भर्ना नीतिलाई व्यवस्थित बनाउन आवश्यक पहल गरिने उल्लेख छ।

सहमतिमा सबै अस्पतालमा नर्सिङ प्रक्रिया, नर्सिङ केयर प्लान, नर्सिङ अभिलेखीकरण, नर्सिङ मूल्याङ्कन, औषधि व्यवस्थापन, सङ्क्रमण नियन्त्रण, बिरामी सुरक्षा, प्रतिकूल घटना व्यवस्थापन तथा नियमित नर्सिङ र मिडवाइफ्री अडिट अनिवार्य रूपमा लागू गर्ने व्यवस्था गरिएको छ। साथै, ती प्रतिवेदन सम्बन्धित अस्पतालको वेबसाइटमा सार्वजनिक गर्ने र एकीकृत स्वास्थ्य सूचना प्रणालीमा नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइनेछ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सबै स्वास्थ्य संस्थामा सम्मानजनक मातृत्व सेवा (रिस्पेक्टफुल म्याटर्निटी केयर) को अडिट अनिवार्य गरिने, मिडवाइफ्री सेवाको निरन्तरता र गुणस्तर सुधारका लागि आवश्यक व्यवस्था गर्ने तथा मिडवाइफ्री सेवा इकाइ स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्ने सहमति पनि भएको छ।

त्यसैगरी सबै सरकारी, निजी, गैरसरकारी तथा शिक्षण अस्पतालमा न्यूनतम सेवा मापदण्ड (मिनिमम सर्भिस स्ट्यान्डर्ड) अनिवार्य रूपमा लागू गरिनेछ। ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ सम्बन्धी मापदण्ड संशोधन गरी नर्स, मिडवाइफसहित अन्य स्वास्थ्यकर्मीमा समेत लागू गर्ने सहमति भएको छ।

नेपाल नर्सिङ परिषद्ले एक महिनाभित्र निरन्तर व्यावसायिक विकास कार्यक्रम (कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट) सुरु गर्ने तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिम निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि पनि उपलब्ध गराइनेछ।

यस्तै, नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर सुधार, अनुसन्धान, नेतृत्व विकास, प्रमाणमा आधारित अभ्यास तथा विशेषज्ञता विकासलाई संस्थागत गर्दै वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको छ।

सहमतिमा स्वास्थ्य सेवा ऐन तथा नियमावली संशोधन, सेवा अवधि र दुर्गम सेवासम्बन्धी व्यवस्था परिमार्जन, नर्स तथा मिडवाइफको पद तथा दरबन्दी सुनिश्चित गर्ने, नर्स–मिडवाइफ–रोगी अनुपात प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नेपाल नर्सिङ परिषद् ऐन, २०५२ लाई समयानुकूल संशोधन गर्ने तथा नर्सिङ र मिडवाइफ्री सेवा ऐन तर्जुमा गर्ने विषय पनि समेटिएको छ।

यसबाहेक बिरामी सुरक्षा, क्लिनिकल गभर्नेन्स, गुणस्तर सुधार, घटना प्रतिवेदन प्रणाली, नर्सिङ तथा मिडवाइफ्री संवेदनशील सूचकलाई स्वास्थ्य प्रणालीका अनिवार्य सूचकका रूपमा संस्थागत गर्ने तथा विशेषज्ञ नर्स, विशेषज्ञ मिडवाइफ, एड्भान्स प्राक्टिस नर्स र नर्स–मिडवाइफ प्राक्टिसनरसम्बन्धी अध्ययन गरी आवश्यक संरचना विकास गर्ने सहमति भएको छ।

प्रकाशित : २० श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६