दाङ, २१ साउनः
तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ । उहाँले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आउनुभएका कारण आजकाल स्थानीयले उहाँलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् ।
निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले तुलसीपुर उपमहानगरपालिका–६ मा सन्तोषजनक आम्दानी गर्नुभएको छ । उहाँले रु करोडौँ जाने आकर्षक निवाससमेत निर्माण गरिसक्नुभयो ।
सामान्य लेखपढ गर्नुभएकी बुढा च्याउखेतीमै रम्न थाल्नुभएको छ । उहाँले उद्योगमा दुई जनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक रु आठ लाख बचत गर्नुहुन्छ । सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गर्नुभएकी उहाँ दाङको महिला उद्यममीका रुपमा चिरपरिचित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “च्याउखेतीबाट आर्थिक रुपमा सक्षम हुनुका साथै आत्मनिर्भर बनेकी छु ।”
च्याउ बिक्रीबाट तुलसाले लाख रुपैयाँ बचत गरी पक्की घर तथा सम्पती जोड्न सफल हुनुभएकोे छ । मगरले च्याउ, च्याउको अचार, सुकुटी विभिन्न मेला महोत्सवमा स्टल भाडामा लिएरसमेत बिक्री गर्नुभएको छ ।
तुलसाले बजारमा ताजा च्याउ प्रतिकेजी रु २२०, सुकुटी रु ३०० देखि ३८० सम्म र अचार रु ५०० देखि ६०० मा बिक्री गर्नुहुन्छ । रु तीन लाँखबाट व्यवसाय सुरु भएको च्याउखेतीबाट रु एक करोड मूल्य बराबरको पक्की घर निर्माण गर्न सफल भएकी छन् तुलसा ।
निरन्तर च्याउ उत्पादनमा लागेकै कारण उहाँको मेहनतको कदर गर्दै साना तथा मझौला उद्योगले निःशुल्क च्याउ प्रशोधन मेसिन उपलब्ध गराएको छ ।
चितवनमा च्याउखेती देखेपछि आकर्षित भएकी तुलसा दुई सन्तानकी आमा हुन् । आमाको मेहनत र लगनशीलताले सन्तानलाई पनि मेहनत गर्ने आदत बसेको तुलसाले सुनाउनुभयो । गत वर्ष तुलसीपुर उपमहानगरपालिले उहाँलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्रदान गरेको थियो । च्याउ एक प्रकारको हरितकण नभएको ढुसी फन्जाइ हो । जुन ओसिलो र कुँहिएको वस्तुमा उम्रन्छ । नेपालमा कन्ये, गोब्रे र सीताकेजस्ता खानयोग्य च्याउको व्यावसायिक खेती गरिन्छ । तर, जङ्गली च्याउ खाँदा मानिसको मृत्युसमेत हुने गरेको छ ।










प्रतिक्रिया