ब्रेकिंग न्युज

रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानु पर्नेमा जोड



काठमाडौँ, २८ साउन

प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । समितिको आजको बैठकमा जैविक तथा प्राङ्गारिक मल, माटोको अवस्था र दिगो कृषि विकासबारे छलफल गर्दै सभापति चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने भएकाले जैविक मल प्रवर्द्धनका लागि नीतिगत प्राथमिकता आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी बैठकमा जैविक तथा प्राङ्गारिक मल उत्पादक उद्योगसँग उत्पादन, लागत र प्रतिस्पर्धी क्षमताबारे छलफल गरिने जानकारी दिनुभयो । बैठकमा नेपालमा ३३ प्रतिशत कृषियोग्य जमिन बाँझो रहेको, भू–क्षयका कारण ४५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रको उत्पादकत्व र गुणस्तरमा ह्रास आएको तथा तराईका ९० प्रतिशतभन्दा बढी भूभागमा प्राङ्गारिक कार्बन न्यून रहेको विवरण प्रस्तुत गरिएको थियो । पछिल्लो ११ वर्षमा अनुदानमा वितरण हुने रासायनिक मलको मात्रा ८० प्रतिशतले बढेको बताइएको छ । उत्पादन लागत वृद्धि, किसानले मूल्य निर्धारण गर्न नसक्नु र बजार अनियन्त्रित हुनुका साथै महिला श्रमशक्ति, युवा रोजगारी, साना तथा टुक्रे खेती र स्वस्थ खाद्यमा पहुँचबारे पनि छलफल भएको थियो । बैठकमा रासायनिक मलका लागि रु ३२ अर्ब ४६ करोड अनुदान छुट्याइए पनि जैविकखेती प्रवर्द्धनका लागि स्थानीय तहलाई रु ३६ करोड मात्र सशर्त अनुदान दिइएको भन्दै अनुदान नीति पुनरावलोकन गर्नुपर्ने धारणा राखिएको थियो । माटो विज्ञहरुले प्रस्तुतीकरण गरेको बैठकमा समिति सदस्यहरुले जैविक रूपान्तरण र माटो सुधारका लागि नीतिगत स्पष्टतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । बैठकमा माटो वैज्ञानिक एवं कृषि विज्ञहरु डा रोशनबाबु ओझा, जगन्नाथ काफ्ले, मदन पौडेल र सन्देश सुवेदीले प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त बैठकमा समितिका सदस्यहरु केपी खनाल, गङ्गालक्ष्मी अवाल, चन्देश्वर मण्डल, पुनमकुमारी अग्रवाल, वसुमाया तामाङ, सागर ढकाल, प्रेमबहादुर बयकलगायतले जैविक रुपान्तरण र माटो सुधारका लागि नीतिगत स्पष्टता प्राथमिकता हुनुपर्ने राय व्यक्त गर्नुभएको थियो ।

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६