ब्रेकिंग न्युज

निगमले थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने



काठमाडौँ, ३० साउन

नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि आज विभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको छ । निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो । वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ । आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्रीवितरण गर्ने जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु; राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँबजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिने निगमले जनाएको छ । निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । बिक्रीवितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना बिक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्नसक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

प्रकाशित : ३० श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६