ब्रेकिंग न्युज

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल



काठमाडौँ, ३० साउन

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु ।” नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उहाँले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।” सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रकाशित : ३० श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६