देश

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण



म्याग्दी, ४ भदौ

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र आमा तथा बच्चाको पोषण अवस्था सुधारका साथै जोखिमपूर्ण तवरले घरमै प्रसुति हुनेको सङ्ख्या शून्य बनाउने उद्देश्यले ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो । चालु आव २०८३/८४ मा रु पाँच/पाँच लाख बजेट विनियोजन भएको दुईवटै कार्यक्रमको गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार पालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले शुभारम्भ गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत स्वास्थ्यकर्मी हरेक महिनाको एकपटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउने तथा स्थानीयस्तरमा उपचार नहुने समस्या भएकालाई अस्पताल जान सुझाउने गरेका छन् । गत वर्ष दोहोरिएका गरेर छ हजार ४०० ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य परीक्षण सेवा पाएका रघुगङ्गाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले बताउनुभयो । तोकिएको चार पटक गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा आउने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसुति हुने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था मिलाइएको छ । हरेक पटक गर्भपरीक्षण गर्न आउँदा र प्रसूति भएपछि स्वास्थ्यकर्मी घरभेटमा जाँदा अण्डा उपहार दिने गरेका छन् । गत आवमा रघुगङ्गामा संस्थागत प्रसूति सेवा लिएका ८६ जनाले यो सुविधा पाएका छन् । वडा नं ६ पाखापानीका एक जना बाहेक सबैले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख जयसवालले बताउनुभयो । गर्भ र प्रसूति अवस्थामा पोषणयुक्त खानेकुराको व्यवस्था मिलाउनुपर्ने सन्देश प्रवाह गराउने तथा घरमा प्रसूति हुने सङ्ख्यालाई शून्य बनाएर मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले आव २०८१/८२ देखि सुरु भएको कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि निरन्तरता दिएको उपाध्यक्ष पुनले बताउनुभयो । –––

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६