प्रेसपाटी
पकडी, भदौ ५
नेकपा (एमाले) कपिलवस्तुले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण अभियान–२०८३’ ले संगठन सुदृढीकरणसँगै जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ। अभियान अन्तर्गत बाणगंगा नगरपालिका स्तरीय विस्तारित भेला वडा नं. ८, बोडगाउँमा सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेले बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार पार्टी संगठनलाई थप गतिशील र सुदृढ बनाउनुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई जनतासँग अझ नजिक जोड्दै संगठनात्मक कमजोरीको समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

“जनताले पार्टीबाट अपेक्षा गरेका विषयलाई सम्बोधन गर्ने गरी एमाले आफूलाई थप रूपान्तरण गर्दै अघि बढ्नुपर्छ,” उहाँको भनाइ थियो।
कार्यक्रममा एमाले नेताहरू बिमला घिमिरे, विष्णुप्रसाद पन्थी, झविलाल पोख्रेल, बाबुराम खनाल र चक्रपाणी अर्याल लगायतले पार्टीको वर्तमान अवस्था, संगठन विस्तार तथा जनतासँगको सम्बन्धका विषयमा धारणा राख्नु भएको थियो।
भेलामा बाणगंगा नगरपालिकाका ११ वटै वडा कमिटीले संगठनात्मक अवस्थाबारे समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए। वडा तहमा पार्टीको गतिविधि, संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धका विषयमा भएका प्रगति र चुनौतीबारे छलफल गरिएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ।





विस्तारित भेलाले पार्टी संगठनलाई राजनीतिक गतिविधिमा सीमित नराखी जनताका समस्या, आवश्यकता र अपेक्षासँग प्रत्यक्ष जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्न वडा कमिटीलाई थप सक्रिय बनाउने तथा कार्यकर्तालाई जनतामाझ केन्द्रित गराउने विषयमा समेत छलफल भएको थियो।

नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भीमबहादुर थापाको स्वागत तथा नगर सचिव चेतनारायण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

भेलामा नगर तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।










प्रतिक्रिया