अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै



काठमाडौँ, ६ भदौ:

‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको अन्तरराष्ट्रिय कला प्रदर्शनी यही भदौ ७ गते बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना हुने भएको छ । तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोग तथा डा अर्शिया मन्सुर लोखण्डवालाको ‘क्युरेसन’मा आयोजना हुन लागेको प्रदर्शनी दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित रहने जनाइएको छ । प्रदर्शनीमा कलाकार रोशन मिश्र र शौर्य कुमारबीच कलाकार संवादसमेत आयोजना हुनेछ । प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि तथा धार्मिक–अनुष्ठानिक वस्तु तिनको जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी संग्रहालयमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट केलाउने प्रयास गरेको छ । नेपालका खाली भएका मन्दिरदेखि भारतका विभिन्न स्थानबाट बाहिरिएका कांस्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला र बंगलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भमार्फत प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ । क्युरेटर डा लोखण्डवालाका अनुसार विश्वका संग्रहालयहरू आफ्ना संग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय समकालीन विश्वको महत्वपूर्ण सांस्कृतिक बहस बनेको छ । दक्षिण एसियाको सन्दर्भमा सम्पदा फिर्ता हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न मात्र पर्याप्त नभई त्यसको स्वामित्व कसले निर्धारण गर्छ, त्यसको अर्थ कसले व्याख्या गर्छ र विस्थापित सम्पदाको भविष्यबारे निर्णय गर्ने अधिकार कससँग हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण रहेको उहाँको भनाइ छ । प्रदर्शनीमा तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कला सिर्जना समावेश हुनेछन् ।सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुनःफिर्ता ल्याउने विषय नेपालका लागि विशेष महत्वको रहेको बताउनुभयो । उहाँका अनुसार यस्तो प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहासलाई आफ्नै दृष्टिकोणबाट हेर्न तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने अवसर दिन्छ । सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा. लोखण्डवालाले क्युरेट गरेको यो तेस्रो प्रदर्शनी हो । यसअघि उहाँले क्युरेट गरेको ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिज्म एन्ड साउथ एसियन वुमनहुड’ प्रदर्शनीमा तीन नेपाली महिला कलाकारसमेत सहभागी थिए। उक्त प्रदर्शनी सन् २०२५ को सेप्टेम्बरमा श्रीलंकामा पनि प्रदर्शन गरिएको थियो । —

प्रकाशित : ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६