ब्रेकिंग न्युज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित



काठमाडौँ, ७ भदौ

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ । ती शिविरमा कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिनुभयो । अस्पतालले नख्खुमा कारागारमा कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा परीक्षण गराउनेमा मोतिबिन्दु, दृष्टिदोष तथा मनसुनमा देखिने विभिन्न रोगको पहिचान भएको अस्पतालले जनाएको छ । विशेषज्ञसहित आठ जनाको टोलीले त्यस शिविरमा २० जनामा मोतिविन्दु पहिचान गरेको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरेको उहाँले जानकारी दिनुभयो । आँखा परीक्षणका क्रममा मोतीबिन्दु देखिएकालाई कारागार व्यवस्थापनसँगको सहकार्यमा अस्पतालले केही समयपछि निःशुल्क शल्यक्रिया गर्नेछ । त्यस्तै, १४६ जना कैदीबन्दीमा पढ्न÷लेख्न समस्या देखिएकाले निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको तथा शिविरमा उपचार हुन नसकेका ९२ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको जनाइएको छ । त्यस अवसरमा अस्पतालकै प्राविधिक टोलीले कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि आँखा स्वास्थ्य, सुरक्षा तथा हेरचाहका सम्बन्धमा चेतनामूलक अभिमुखीकरणसमेत प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिनुभयो । उक्त अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र सदरखोर (कारागार) डिल्लीबजारसँग सम्झौता गरी त्यहाँका कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसैबीच, त्यस अस्पतालले लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिकस्थल गुरुद्वारामा सञ्चालन गरेको निःशुल्क अाँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो । त्यसअवसरमा शिविरमा आँखा परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो भने १४१ जनालाई औषधि प्रदान गरिएको जानकारी दिइयो । एजिङ केयर सेन्टरमा आँखा शिविर नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालित निःशुल्क आँखा शिविरमा १०५ बिरामीको आँखा जाँच गरिएको छ । शिविरमा आँखा परीक्षण गरिएकामध्ये सेन्टरका नौ जना र स्थानीय पाँच जनामा मोतीबिन्दुको पहिचान गरिएको अस्पतालले जनाएको छ । सेन्टर र समुदायका गरी २२ जनालाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिनुभयो । यसअघि उक्त शिविरको नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । —

Powered By  Orson Infotech

प्रकाशित : ७ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६