कपिलवस्तु, भदौ ११
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा सम्पन्न जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकले यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
समितिले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३/८४ सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई उपलब्ध गराई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन कपिलवस्तुस्थित स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध तथा अपिल गर्ने निर्णय गरिएको छ। राहत तथा सहयोग वितरण गर्दा एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले बुद्धभूमि नगरपालिका–३ का १४ वर्षीय साजन थारूको चट्याङ लागेर मृत्यु भएको घटनामा नगरपालिकाले मृतकका परिवारलाई उपलब्ध गराएको दुई लाख रुपैयाँ आर्थिक सहायता सोधभर्ना गर्ने निर्णय गरेको छ। नगरपालिकाले उक्त रकम सोधभर्नाका लागि माग गरेकाले समितिले बुद्धभूमि नगरपालिकालाई दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
कपिलवस्तुमा बाढी, डुबान, आगलागी, सर्पदंश, चट्याङ तथा सडक दुर्घटनालगायतका विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।

समितिले स्थानीय तह, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई बलियो बनाउँदै विपद्का समयमा छिटो उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था मिलाउनेमा जोड दिएको छ।
विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले पूर्वतयारीलाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालन गर्ने तथा विपद् व्यवस्थापनका लागि सबै निकायलाई जिम्मेवार र सक्रिय बनाउने निर्णय बैठकले गरेको छ।










प्रतिक्रिया