अर्थ-वाणिज्य

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष



भोजपुर, १५ भदौ

भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्षखेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्बबराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उहाँले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उहाँको भनाइ छ । कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उहाँले बताउनुभयो । “राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्”, उहाँले भन्नुभयो, “त्यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढेको छ ।” भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् । षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उहाँको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताउनुभयो । उहाँका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । “बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन”, उहाँले भन्नुभयो, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।” धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् । व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ । दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् । खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको छ । भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा खेती विस्तार हुने क्रम जारी छ । समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभागमा रुद्राक्षखेती राम्रो हुने बताइन्छ । भोजपुरको भौगोलिक अवस्था तथा हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै धेरै रहेको जानकारहरूको भनाइ छ ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६