कास्की, १६ भदौः
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए । नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले । महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी । भोटेकोशी बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर शिक्षक कर्मचारी त्यहाँ पुगेका थिए । उनीहरूले करिब रु ३५ हजार बराबरको चामल, गेडागुडी, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न बाढी पीडितका लागि ल्याएका थिए । विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पु¥याएपछि पोखरामा पनि त्यसको पीडा महसुस हुन थालेको छ । बाढीले ठूलो मानवीय क्षति भयो भने कैयौँ पुल सडकलगायत संरचना बगे । विद्यालयसमेत बगाउँदा विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित बने । “देशको एउटा कुनामा हाम्रा धेरै साथी बाढीबाट पीडित हुनुहुन्छ । हामी सुरक्षित स्थानमा बसेर हेरिरहन सकेनौँ । त्यसैले आफ्नो ठाउँबाट जे सक्छौँ, त्यही सहयोग गर्ने कोसिस गरेका हौँ”, बगैँचा मन्टेश्वरी प्रि स्कुलका संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले भन्नुभयो । विपद्का बेला पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको उहाँको भनाइ छ । विपद्मा परेकालाई सहयोग गर्न पोखरेली सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानले आफूले सकेको राहत सामग्री लिएर प्रदर्शनी केन्द्र पुग्न थालेका छन् । त्यसका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमासमेत रकम जम्मा भइरहेको छ । पोखरा नयाँबजारका गणेश शाही पनि बाढी प्रभावितका लागि कपडा, भाँडाकुँडालगायत सामग्री लिएर आउनुभएको थियो । प्रभावित क्षेत्रको क्षति असाध्यै ठूलो रहेकाले आफूहरुको सहयोग सामान्य भए पनि पीडामा साथ दिनुपर्छ भन्ने भावना राखिएको शाहीले बताउनुभयो । “मरेर जाने त गए तर बाँचेकाहरु झन् बढी समस्यामा परेको देखेका छौँ । उनीहरुलाई आफूले सकेको सहयोग गराँै भनेर आएका हौँ । त्यहाँको क्षति हेर्दा हाम्रो सहयोग केही पनि होइन तर पीडामा केही न केही नगरिकन मन मानेन”, शाहीले भन्नुभयो । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राहत सङ्कलन केन्द्र स्थापना गरेको छ । महानगरले यही भदौ १४ गतेदेखि राहत सहयोग अभियान सञ्चालन गरिरहेको छ । यो अभियान भदौ १८ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । अभियानमा खाद्यान्न, लत्ताकपडा, बन्दोबस्तीका सामग्री, औषधिलगायत आवश्यक सामग्री सङ्कलन भइरहेको छ । महानगरले इच्छुक व्यक्ति, सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई राहत सामग्री उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ । केन्द्रमा सङ्कलन भएका राहत सामग्री महानगर प्रहरी बलको पृथ्वीचोकस्थित कार्यालयमा जम्मा गरिएको छ । त्यहाँबाट राहत सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न राहत सङ्कलन अभियान सुरु गरेका छौँ । सक्दो सहयोग गर्न नगरवासीमा आह्वान गरेका छौँ । सहयोग जुटिरहेको छ । नागरिकले स्वतःस्फूर्त रूपमा उपलब्ध गराइदिनुभएको छ । हामी सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा छिट्टै पु¥याउने छौँ ।” महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरिसकेको छ । त्यसैगरी अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार र खोजीका लागि खटिएको छ । भोटेकोशी बाढीबाट प्रभावितका लागि पोखरेलीले राहत सामग्री मात्र नभई आर्थिक सहयोगसमेत गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यहाँका सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, विद्यालय तथा व्यापारिक प्रतिष्ठानले स्वःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । —
Powered By
Orson Infotech










प्रतिक्रिया